करको दायरा बढाएर राजश्व वृद्धि गर्न निर्देशन 

चितवन, २ वैशाख । अर्थमन्त्री डा युवराज खतिवडाले करको दायरा बढाएर राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिनु भएको छ ।
आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारीलाई आज निर्देशन दिँदै मन्त्री खतिवडाले संख्या मात्रै भन्दा राजश्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिनु भएको हो ।
करमा दर्ता मात्रै हुने तर राजश्व तिर्ने गरी व्यवसाय गर्ने कम भएको भन्दै उहाले व्यवसाय गर्ने करदातालाई करको दायरामा ल्याउन निर्देशन दिनु भयो । आर्थिक ऐन २०७५ ले गरेका व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्न पनि उहाले निर्देशन दिनु भयो । आर्थिक ऐनले समय सीमा तोकेर विभिन्न क्षेत्रमा छुटको व्यवस्था गरेको थियो ।
मन्त्री खतिवडाले आगामी बजेटमा कर प्रणालीमा सुधार गर्नुपर्ने केही देखिएमा सुझाव पठाउन पनि निर्देशन दिनु भयो । यस कार्यालयले चितवन र नवलपुर जिल्लाका धेरै मदिरा एवम् बियर उद्योग हेर्ने भन्दै उहाले अन्तः शुल्क संकलनमा चुस्त–दुरुस्त ढङ्गले काम गर्न कर्मचारीलाई निर्देशन दिएको कार्यालय प्रमुख शुवप्रसाद रिजालले बताउनु भयो ।
सोही अवसरमा राजश्व सचिव लालशङ्कर घिमिरेले बजार अनुगमनमा कडाइ गर्दै बिल नकाट्ने, कम मूल्यको बिल काट्ने जस्ता गतिविधि भए तत्काल रोक्न निर्देशन दिनु भएको थियो । निर्देशन पालना गर्दै लक्ष्य प्राप्तिमा भएका कमजोरीलाई हटाउँदै आगामी दिनमा बाँकी लक्ष्य प्राप्तिका लागि कार्य सम्पादनमा अझ प्रभावकारिता ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो । आन्तरिक राजश्व कार्यालयमा ५१ हजार करदाता छन् । चालू आर्थिक वर्षको चैतसम्ममा २० अर्ब राजश्व संकलन भइसकेको उहाले बताउनु भयो । यस आर्थिक वर्षमा ३० अर्ब राजश्व उठाउने लक्ष्य सो कार्यालयको रहेको छ । रासस

शेयर गरौ

ताजा अपडेट