चितवन समाचार डटकम
चितवन २७ चैत । नयाँ वर्षको अवसर पारेर चितवनको पटिहानीमा राइनोकुञ्ज पर्यटन मेला २०७५ आयोजना हुने भएको छ ।
पटिहानी क्षेत्र राम्रो छ भनेर चर्चा भएपनि पर्यटक ल्याउने ठुला गतिविधि नभएको भन्दै यहाँ मेला आयोजना गरेर जानकारी दिन लागेको हो । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउदैछ । चितवन पनि नेपालको तेस्रो गन्तव्य जिल्लाको रुपमा रहेको छ । यहाँ भएका पर्यटकीय क्षेत्रको प्रचार र त्यसको प्रवद्र्धन गर्नको लागि मेला आयोजना गरेको मेलाका संयोजक प्रकास दवाडीले जानकारी दिनु भयो ।
भरतपुर महानगरपालिका वडा नं. १३ मा रहेको पटिहानी क्षेत्र र यस वरपर रहेका अन्य पर्यटकीय स्थानको प्रचार गरी धेरै पर्यटकलाई भित्राउने उद्देश्य रहेको मेलाका सह संयोजक रामजी सापकोटाले भन्नु भयो । चितवन आएका पर्यटकहरु सौराहा केन्द्रीत भएकाले जिल्ला अन्य महात्वपूर्ण स्थानहरु ओझेलमा परेका छन् । भरतपुर महानगरपालिका वडा नं. १३ मा रहेका पर्यटकीय क्षेत्रको विकास र प्रचारमा हाम्रो ध्यान गएको मेला संयोजक तथा वडा नं. १३ का अध्यक्ष दवाडीले जानकारी दिनु भयो ।
मेलामा एकसय स्टल रहने छन् । कृषि, पर्यटन, संरक्षणको क्षेत्रमा भएका सम्भावना, निकुञ्ज भित्रका जनावरहरु सहजै देख्न सकिने स्थानको रुपमा वडा नंं. १३ रहेको मेलाको स्टेरिङ कमिटीका सदस्य प्रकास ढुंगानाले बताउनु भयो । जाउ है राइनो कुञ्ज भन्ने हाम्रो उद्देश्य हो उहाले भन्नु भयो । निकुञ्जको राप्ती नदी किनार राइनोकुञ्ज हो । यहाँबाट एक सिंगे गैडा सहजै देख्न सकिन्छ ।
छीतामाइ अर्को आकर्षक पर्यटकीय क्षेत्र हो । थारुहरुको भनाइ अनुसार छीतामाइको पुजा गरेपछि मात्र विक्रम बाबाको पुजा गर्नु पर्दछ भन्ने मान्यता रहेको छ । त्यस्तै गरी सहिद पार्क, कमल पोखरी, श्रमिक ताल, बाटुली पोखरी, गैडा ताल, भ्यु टावर यहाँका आकर्षक स्थान हुन् । भरतपुर महानगरपालिका वडा नं. १३ को आयोजना हुने मेलाको संरक्षक महानगरपालिका कार्यालय रहेको छ । मेला यही चैत्र ३० देखि बैशाख २ गतेसम्म सञ्चालन हुने छ । मेलाको विषयमा आयोजकले आज भरतपुरमा पत्रकारसंग अन्र्तरक्रिया कार्यक्रमको आयोजना गरी जानकारी गराएको थियो ।


