चितवन समाचार डटकम
चितवन २३ चैत । चितवनको इच्छाकामना गाउपालिकामा निर्माण भइराखेको भौतिक संरचनाको आज सांसदको टोलीले अनुगमन गरेको छ ।
इच्छाकामना गाउपालिका भित्र निर्माण भएका सडक, स्वास्थ्य चौकीको भवन, भुकम्प पीडितहरुको लागि निर्माण भएका घरहरुको अनुगमन गरेको हो । चितवनको निर्वाचन क्षेत्र नं. २ का सांसद तथा न्याय कानुन तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीलगायतको टोलीले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा निर्माण कार्यलाई तोकिएको समयमा सम्पन्न गर्न निर्देशन दिएको सांसद पोखरेलले बताउनु भयो । इच्छाकामना मन्दिरदेखि तामिल हुदै मुग्लिन आउने सडकको निर्माणको अवस्थाको विषयमा अनुगमन गरेको थियो । सो सडक कृष्णभक्त पोखरेलले विकास कोषबाट ५० लाख विनियोजन गरिएको थियो । यो सडक निर्माण पूरा भएपछि पहाडी क्षेत्रमा फलेका कृषि जन्य उत्पादन बजारसम्म ल्याउन सजिलो हुने स्थानीय कृषकले बताएका छन् ।
योसंगै काउलेको हात्तीवाङमा २५ लाखको लागतमा निर्माण हुदै गरेको स्वास्थ्य चौकी भवनको अनुगमन गरेको छ । तोकिएको समयमा निर्माण सम्पन्न गर्नको लागि निर्देशन दिएको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले जानकारी दिनु भयो । सांसद कोषबाट २० लाख र जिल्ला समन्वय समितिबाट १५ लाखको लागतमा यो भवन निर्माण भइराखेको छ । टोलीले २०७२ सालको बैशाख महिनामा आएको भुकम्पबाट पीडित भएकाहरुको निर्माण भइराखेको घरहरुको समेत अनुगमन गरेको छ ।


