चितवन १७ चैत । नागरिकको स्वास्थ्यमा लागिरहने महिला स्वयम् सेविकालाई राज्यले सेवा सुविधा नदिएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
आइतबार भएको पूर्ण खोप तथा सुनिश्चित घोषणा कार्यक्रममा यस्तो आवाज उठेको हो । उनीहरुको सेवा बृद्धि गर्नको लागि अलगै नीति निर्माण आवश्यक रहेको राप्ती नगरपालिकाकी प्रमुख प्रभाव वरालले बताउनु भयो ।
दिनरात नभनी स्वयमसेविकाहरु खट्ने भएपनि उनीहरु राज्यबाट उपेक्षित भएको चिन्ता व्यक्त गर्नु भयो । बाल मृत्युदर र मातृ मृत्युदर घट्नुमा महिला स्वयमसेविकाहरुको भूमिका महत्वपूर्ण रहेको उहाको भनाई थियो । कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक राजेन्द्र पराजुलीले पछिल्लो वर्षको खोपको प्रतिवेदन प्रस्तुत गर्दै गत वर्ष भन्दा चालु आर्थिक वर्षमा खोपको प्रभावकारीता वढेको बताउनु भयो ।
गत वर्ष नगरलाई पूर्ण खोपयुक्त घोषणा गर्दा १६ देखि २३ महिनासम्मका ७ सय ९ जना बालवालिकालाई खोप लगाईएकोमा यस वर्ष ७ सय ३८ जनालाई लगाईएको पराजुलीले बताउनु भयो । गत वर्षको फागुन १७ गतेनै राप्ती नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको थियो । पूर्ण खोपयुक्त नगरलाई दिगोपना कायम राख्न सहयोग पु¥याएको भन्दै नगर भित्र रहेका स्वास्थ्य संस्थाहरु तथा महिला स्वयम सेविकाहरुलाई सम्मान समेत गरिएको थियो ।
राप्तीकी मेयर प्रभा वरालको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष अम्बरबहादुर तामाङ, महिला स्वयम सेविका अम्बिका थपलिया, स्वास्थ्य शाखा सहसंयोजक राममणी सिलवाल लगायतले मन्तव्य राख्नु भएको थियो ।


