अमेरिका र चीनबीच व्यापार वार्ता बेइजिङमा शुरु हुँदै

काठमाण्डौ, चैत १४ :

संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा बिहीबार शुरु हुँदैछ ।

विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र रहेका मुलुकहरु अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा टुङ्ग्याउने प्रयत्नस्वरुप केही महिनादेखि दुबै देशका वरिष्ट अधिकारीहरुको वार्ता घनिभूत रुपमा अगाडि बढेको छ । अमेरिकी प्रमुख व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन बेइजिङ आइसक्नु भएको छ ।

अमेरिकी प्रधिनिधिमण्डलले चिनियाँ उपप्रधानमन्त्री एवं वरिष्ट आर्थिक अधिकारी लिऊ हेसँग वार्ता गर्नेछ । चीनको जनकङ्ग्रेसले विदेशी लगानीको सुरक्षासम्बन्धी कानुन पारित गरेपछि यो पहिलो वार्ता हुन लागेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई मुलुकबीचको व्यापार वार्ता चाँडै टुङ्गिने विश्वास व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार वार्ताका विषयमा शिखर वार्ता गर्न आफू प्रतिक्षारत रहेको बताउनुभएको छ । तर वार्तामा केही मुलभूत विषयमा सहमति जुट्न बाँकी रहेको दुबै देशका प्रतिनिधिहरुले बताए पनि विस्तृत विवरण दिइएको छैन ।

बेइजिङमा हुने वार्तापछि वासिङ्टनमा पुनः वार्ता हुनेछ ।(एजेन्सी)

शेयर गरौ

ताजा अपडेट