चितवन, १९ कात्तिक । भरतपुर महानगरपालिकाका विभिन्न छ स्थानमा ट्राफिक लाइट जडान गरी परीक्षण भइरहेको समयमा सडक प्रयोगकर्तालाई यसको प्रयोग र ट्राफिक नियमबारे जानकारी दिन सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना र पार्किङ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले बुधबार बिहान भरतपुरको चौबिसकोटीमा कार्यक्रम आयोजना गरिएको हो । भरतपुर महानगरपालिकाको आयोजना, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको प्राविधिक सहयोग तथा दर्शन मिडियाको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनालको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, महानगरपालिकाका कर्मचारी, ट्राफिक प्रहरी, टोल विकास संस्थाका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी तथा विद्यार्थीको सहभागिता थियो ।

कार्यक्रममा वडाध्यक्ष खनालले ट्राफिक व्यवस्थापन सरकार वा प्रहरीको मात्रै जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको बताउनुभयो । उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका प्रमुख वरिष्ठ इन्जिनियर विराट घिमिरेले सहरको ट्राफिक व्यवस्थापन, सडक पूर्वाधार सुधार र व्यवस्थित पार्किङका लागि महानगरपालिकाले गरिरहेका प्रयासबारे जानकारी गराउनुभयो । सहरी व्यवस्थापन प्रभावकारी बनाउन महानगरपालिका, ट्राफिक प्रहरी, व्यवसायी र आम नागरिकबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाले ट्राफिक सङ्केत, ट्राफिक लाइटको प्रयोग, सडक अनुशासन, सुरक्षित सवारी सञ्चालन र पार्किङ व्यवस्थापनका विषयमा जानकारी गराउनुभयो । ट्राफिक नियमको सामान्य बेवास्ताले पनि दुर्घटना निम्त्याउन सक्ने भएकाले सडक प्रयोग गर्दा सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा चितवन माध्यमिक विद्यालय र नारायणी माध्यमिक विद्यालयका स्वयंसेवक विद्यार्थीलाई पनि सहभागी गराइएको थियो । विद्यार्थीले ट्राफिक स्वयंसेवकका रूपमा सडक प्रयोगकर्ता तथा सर्वसाधारणलाई ट्राफिक नियम र सुरक्षित सडक प्रयोगबारे सचेत गराउन सहयोग गरेका थिए ।
महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखामा कार्यरत वरिष्ठ शाखा अधिकृत शारदा शर्माले विद्यार्थी, सडक प्रयोगकर्ता, व्यवसायी र आम नागरिकलाई ट्राफिक नियमबारे जानकारी गराउँदै दुर्घटना न्यूनीकरण र बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने अभियान सञ्चालन भइरहेको बताउनुभयो । भरतपुरका छ स्थानमा ट्राफिक लाइट जडान गरी परीक्षण भइरहेका बेला त्यसको प्रयोगबारे सडकमा नै सचेतना कार्यक्रम सञ्चालन गर्नु सकारात्मक भएको सडक प्रयोगकर्ताले बताएका छन् ।



