दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने अध्यक्ष बगालेको प्रतिबद्धता

चितवन, २७ असोज । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडको अध्यक्षमा किशोर बगाले पुनः सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

सङ्घको नयाँ कार्यसमितिको उपाध्यक्षमा रामेश्वरसिंह ओली, सचिवमा कल्याण अधिकारी र कोषाध्यक्षमा शिवप्रसाद पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।

निर्वाचन समितिका संयोजक वामदेव अधिकारीका अनुसार कार्यसमिति सदस्यमा युवराज थापा, श्यामचन्द्र रैला, कल्पना आचार्य, कोपिला दाहाल र किशोर पौडेल निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्णप्रसाद भण्डारी चयन हुनुभएको छ । समितिको सदस्यमा बलराम अधिकारी र तेजकुमारी काफ्ले रहनुभएको छ ।

पुनः अध्यक्षमा निर्वाचित बगालेले चितवनको दुग्ध क्षेत्रलाई देशकै अनुकरणीय र नमुना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले दुग्ध उत्पादक किसानको हित संरक्षण गर्दै समग्र दुग्ध क्षेत्रको विकासलाई प्राथमिकता दिने बताउनुभयो ।

सङ्घले विसं २०८७ सम्मका लागि योजना तयार गरिसकेको जानकारी दिँदै उहाँले दुग्ध क्षेत्रको व्यावसायिक विकासका लागि थप रणनीतिक काम अघि बढाइने बताउनुभयो । दूधको विविधीकरणसँगै दुग्ध उद्योग, दाना उद्योग र मार्टसमेत सञ्चालन गर्दै आएको सङ्घले यी क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उहाँको भनाइ छ ।

चितवनमा दुग्ध उत्पादन, प्रशोधन तथा बजारीकरणलाई व्यवस्थित गर्दै किसानको आयआर्जन वृद्धि गर्ने र दुग्ध क्षेत्रलाई राष्ट्रिय स्तरमै उदाहरणीय बनाउने दिशामा आफूले पहल गर्ने अध्यक्ष बगालेले प्रतिबद्धता जनाउनुभयो ।

शेयर गरौ

ताजा अपडेट