हेटौँडा, २७ असोज ।
दुग्ध विकास संस्थान (डीडीसी) बाट उत्पादित दुग्धजन्य सामग्रीको बिक्री तथा वितरण सहज बनाउन हेटौँडामा पहिलो पटक दुई वटा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ ।
हेटौँडा–४, हुप्रचौर नजिकको बिक्री केन्द्रको आइतबार हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले उद्घाटन गर्नुभयो । अर्को बिक्री केन्द्र हेटौँडा–२, कान्तिराजपथमा सञ्चालनमा ल्याइएको छ । बिक्री केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख लामाले डीडीसीका उत्पादन उपभोक्ताले सहज रूपमा खरिद गर्न पाउने बताउनुभयो । उहाँले स्वदेशी उत्पादनको प्रवर्धनमा बिक्री केन्द्रले सहयोग पु¥याउने उल्लेख गर्दै हेटौँडा दूध उत्पादनको केन्द्रका रूपमा समेत विकास हुँदै गएको बताउनुभयो ।
हुप्रचौर नजिकको बिक्री केन्द्र सञ्चालन गर्न करिब २० लाख रुपियाँ र कान्तिराजपथस्थित केन्द्र सञ्चालन गर्न करिब १० लाख रुपियाँ लगानी गरिएको सञ्चालक फेन्चु लामा रुम्बाले जानकारी दिनुभयो । बिक्री केन्द्रमा दूध, दही, मोही, याक चिज, पनिर, घिउ, आइसक्रिम, रसबरी र लालमोहनलगायत डीडीसीबाट उत्पादित करिब ३० प्रकारका दुग्धजन्य सामग्री उपलब्ध हुनेछन् । डीडीसीले निर्धारण गरेको मूल्यमा सामग्री बिक्री गरी उपभोक्तालाई सुपथ मूल्यमा दुग्धजन्य वस्तु उपलब्ध गराउने लक्ष्य रहेको सञ्चालक रुम्बाले बताउनुभयो ।
डीडीसी हेटौँडा दुग्ध वितरण आयोजनाका प्रमुख राजीव खनालले संस्थानका उत्पादन उपभोक्तासम्म सहज रूपमा पु¥याउन तथा गुणस्तरीय दुग्धजन्य पदार्थको सुरक्षित बिक्री वितरण सुनिश्चित गर्न बिक्री केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । केन्द्रीय स्तरको निर्णयअनुसार किसानको मेहनतबाट उत्पादित दूधबाट बनेका स्वच्छ तथा गुणस्तरीय सामग्री उपभोक्तालाई उपलब्ध गराउने उद्देश्य रहेको उहाँले स्पष्ट पार्नुभयो ।
डीडीसीले मकवानपुर, बारा, रौतहट र सर्लाहीबाट दूध सङ्कलन गर्दै आएको छ । उपलब्ध विवरणअनुसार संस्थानले दैनिक करिब १५ हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । त्यसमध्ये हेटौँडा, चितवन र वीरगञ्जमा करिब पाँच हजार लिटर खपत हुने गरेको छ भने बाँकी दूधमध्ये करिब १० हजार लिटर काठमाडौँ पठाउने गरिएको छ । घिउ तथा मिठाईजन्य सामग्रीसमेत काठमाडौँ पठाइने गरिएको छ ।
सरकारी स्वामित्वको डीडीसीका उत्पादनको बिक्री पछिल्लो समय बढेको जनाइएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत डीडीसीको याक चिजसहितको तस्बिर सार्वजनिक गरेपछि संस्थानका उत्पादनको बिक्री ४० प्रतिशतले बढेको बताइएको छ ।


