राजमार्गमा हुने दुर्घटनाको उपचार सहज बनाइने

चितवन, २७ असोज  । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिङ सडकमा हुने सवारी दुर्घटनाका घाइतेको उपचारमा इच्छाकामना आधारभूत अस्पताल महत्वपूर्ण बन्न सक्ने बताउनुभएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–कुरिनटारमा निर्माण सम्पन्न १५ शय्याको अस्पताल भवनको उद्घाटन गर्दै उहाँले राजमार्गमा हुने दुर्घटनाका घाइतेलाई तत्काल आधारभूत उपचार उपलब्ध गराउन अस्पताल उपयोगी हुने बताउनुभएको हो । मुख्यमन्त्री मगरले सुविधायुक्त भवन निर्माणसँगै अस्पतालबाट प्रदान गरिने स्वास्थ्यसेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । अस्पताल स्थानीय बासिन्दाका लागि मात्र नभई राजमार्गमा हुने दुर्घटनाका घाइतेको उपचारका लागि पनि महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

आफू स्वास्थ्यमन्त्री रहँदासमेत अस्पतालका लागि बजेट विनियोजन गरेको स्मरण गर्दै मुख्यमन्त्री मगरले प्रदेश सरकारले अहिले पनि अस्पतालका लागि बजेट व्यवस्था गरेको जानकारी दिनुभयो । सबै स्थानीय तहको आम्दानीको स्रोत समान नहुने भएकाले अस्पताल सञ्चालनमा आर्थिक चुनौती आउन सक्ने उल्लेख गर्दै उहाँले आवश्यक प्रविधि र जनशक्ति उपलब्ध गराउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अस्पतालका लागि एक जना चिकित्सक चाँडै उपलब्ध गराइने आश्वासन पनि उहाँले दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले ग्रामीण क्षेत्रको स्वास्थ्य अवस्था सुधारका लागि प्रदेश सरकार तल्लिन भएर लागेको बताउनुभयो ।  आमनागरिकका लागि स्वास्थ्यसेवा महìवपूर्ण भएकाले त्यसलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय गरी तीन वटै तहका सरकारले सहकार्य गर्नुपर्ने उहाँको भनाइ थियो ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले दारेचोक स्वास्थ्य चौकीबाट सेवा सञ्चालन गर्दा विभिन्न कठिनाइ भोग्नु परेको उल्लेख गर्दै सुविधायुक्त भवनबाट सेवा सुरु गर्न पाउँदा खुसी लागेको बताउनुभयो । अस्पताल सञ्चालनको सम्पूर्ण खर्च गाउँपालिकाले मात्र व्यवस्थापन गर्न कठिन हुने भएकाले आवश्यक उपकरण र प्राविधिक जनशक्ति उपलब्ध गराउन प्रदेश सरकारसँग उहाँले आग्रह गर्नुभयो । गाउँपालिकाले विपन्न, सुत्केरी तथा दुर्घटनामा परेका व्यक्तिका लागि निःशुल्क उपचार र एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

अस्पताल भवन निर्माणमा १९ करोड रुपियाँ खर्च भएको गाउँपालिकाले जनाएको छ । अस्पतालबाट २४ सैँ घण्टा आकस्मिक सेवा, प्रसूति सेवा, एम्बुलेन्स, बहिरङ्ग सेवा (ओपिडी), प्रयोगशाला, एक्सरे, अल्ट्रासाउन्ड र फार्मेसीलगायत १५ भन्दा बढी प्रकारका स्वास्थ्यसेवा उपलब्ध हुँदै आएका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट अभिषेक लिम्बूका अनुसार अस्पतालबाट दैनिक ५० देखि ६० जनासम्म बिरामीले सेवा लिँदै आएका छन् ।

शेयर गरौ

ताजा अपडेट