नारायणीमा क्षति रोक्न ६० किमि तटबन्ध आवश्यक, लागत १७ अर्ब

तीर्थ नेपाल

भरतपुर ।

नारायणी नदीमा आउने सम्भावित बाढी र कटानबाट चितवन तथा नवलपरासीका नदी किनारका बस्ती र संरचनालाई जोगाउन करिब ६० किलोमिटर तटबन्ध निर्माण गर्नुपर्ने देखिएको छ । यसका लागि करिब १७ अर्ब रुपैयाँ आवश्यक पर्ने जलस्रोत तथा सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियर तथा विपद् व्यवस्थापनविद् डा. नारायणप्रसाद सुवेदीले बताउनुभएको छ ।

सुवेदीका अनुसार नारायणगढदेखि नवलपरासीको सीमावर्ती सुस्तासम्म नारायणी नदी किनारका जोखिमयुक्त क्षेत्रमा तटबन्ध आवश्यक देखिएको हो। बाढीको जोखिम घटाउन नदी नियन्त्रण र तटबन्धलाई दीर्घकालीन योजनाका रूपमा अघि बढाउनुपर्ने उहाँको भनाइ छ ।

तर तटबन्ध निर्माणको सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा ढुंगाको अभाव बनेको छ। प्रस्तावित संरचना निर्माणका लागि करिब १२ लाख घनमिटर ढुंगा आवश्यक पर्ने अनुमान गरिएको छ ।

“बरु सुन पाइएला, ढुंगा पाउन कठिन छ,” सुवेदीले भन्नुभयो ।

उहाँका अनुसार नारायणी नदी व्यवस्थापनका लागि आवश्यक कामको तुलनामा हाल प्राप्त बजेट निकै न्यून छ । चितवनको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले अहिले वार्षिक करिब ३० करोड रुपैयाँ बजेट पाउँदै आएको छ । उक्त रकमबाट नयाँ काम अघि बढाउनुभन्दा पुराना दायित्व भुक्तानी गर्नमै बजेट सकिने अवस्था रहेको उहाँले बताउनुभयो ।

सुवेदी हाल सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, भरतपुर, चितवनका आयोजना प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ। उहाँको कार्यालयले नारायणी नदी व्यवस्थापन आयोजनाअन्तर्गत चितवन तथा आसपासका क्षेत्रमा नदी नियन्त्रण, तटबन्ध निर्माण तथा बाढी जोखिम न्यूनीकरणका काम गर्दै आएको छ ।

जापानबाट विपद् व्यवस्थापनमा विद्यावारिधि

डा. सुवेदी विपद् व्यवस्थापन तथा नदीजन्य जोखिमका विज्ञसमेत हुनुहुन्छ। उहाँले जापानको National Graduate Institute for Policy Studies (GRIPS) बाट बाढी, डुबान, कटान तथा गेग्रान बहावको जोखिम र क्षति आकलन विषयमा विद्यावारिधि (Ph.D.) गर्नुभएको छ ।

नारायणी नदीको बाढी तथा कटानबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि तत्कालीन आवश्यकता मात्र नभई दीर्घकालीन र एकीकृत नदी व्यवस्थापन योजना आवश्यक रहेको उहाँको धारणा छ ।

शेयर गरौ

ताजा अपडेट