चितवन । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानको जोखिम बढेपछि जनजीवन प्रभावित बनेको छ । नदी तथा खोलामा पानीको बहाव बढ्दा तटीय बस्ती डुबानको जोखिममा परेका छन् भने पहाडी क्षेत्रमा बाढी, पहिरो र लेदोका कारण सडक तथा यातायात अवरुद्ध भएको छ ।
जोखिम बढेपछि पश्चिम नेपालका २५ जिल्लामा शुक्रबार र शनिबार सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमको स्तरअनुसार यातायात व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार जोखिमको स्तरअनुसार जिल्लालाई विभिन्न क्षेत्रमा वर्गीकरण गरी सवारी आवागमन व्यवस्थापन गर्न भनिएको छ । पूर्ण रूपमा सवारी आवागमन रोकिएका जिल्लामा सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुर तथा कर्णालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेत छन् ।
त्यस्तै लुम्बिनी प्रदेशका प्युठान, दाङ, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया तथा गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, गोरखा, लमजुङ र स्याङ्जामा पनि दुई दिन सवारी आवागमन रोक्न भनिएको छ ।
अत्यधिक वर्षाको सम्भावना रहेका थप ३० जिल्लामा रातिको समयमा सवारीसाधन सञ्चालन बन्द गर्न भनिएको छ । बाँकी २२ जिल्लामा पनि वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । ती जिल्लामा कोशी र मधेश प्रदेशका अधिकांश जिल्ला तथा बागमती प्रदेशका मकवानपुर र सिन्धुली रहेका छन् ।
वर्षाका कारण विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षतिसमेत भएको छ । मकवानपुरगढीमा खोलाले बगाउँदा ५० वर्षीय श्यामबहादुर स्याङ्तानको मृत्यु भएको छ । भक्तपुरको लोकन्थलीमा हनुमन्ते खोलाको बाढीबाट डुबानको जोखिम बढेपछि १६ घरपरिवारका ९८ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
नवलपरासी पश्चिममा नारायणी नदीको पानी बस्तीमा पसेपछि करिब चार सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यकामा मनोहरा, बागमती र विष्णुमतीलगायत नदी तथा खोलामा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले बताउनुभयो ।
रसुवा, धादिङ, चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड तथा काभ्रेको रोसी गाउँपालिकालगायत क्षेत्रमा बाढीपहिरोले जनजीवन प्रभावित भएको छ । सिन्धुलीमा रोसीखोलाको बाढीले बस्ती प्रभावित भएको छ भने ओखलढुङ्गाका विभिन्न स्थानमा लेदोसहितको बाढीका कारण आवतजावतमा कठिनाइ भएको छ ।
मनाङको चामे–बेँसीसहर सडक, गुल्मीको सिस्नेभिर–रुद्रबेँसी–वामीटक्सार तथा रोल्पाको घोराही–थबाङ–रुकुम सडकखण्डका विभिन्न स्थान पनि बाढीपहिरोका कारण प्रभावित भएका छन् । पाल्पामा पहिरोले दुई घरमा क्षति पुर्याउनुका साथै एक महिला बेपत्ता भएको प्रहरीले जनाएको छ । सोलुखुम्बुमा बाढीपहिरो र हिमपहिरोको जोखिममा रहेका ३८ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
२६ हजार सुरक्षाकर्मी तयारीमा
चार दिनसम्म वर्षा हुने पूर्वानुमानसँगै सम्भावित बाढीपहिरो र डुबानबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सरकारले सुरक्षा तथा उद्धार संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको छ । विपत् आइपरेलगत्तै खोज तथा उद्धार, राहत र उपचारमा परिचालन गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका करिब २६ हजार सुरक्षाकर्मी आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा राखिएका छन् ।
नेपाली सेनाले काठमाडौँ, सुर्खेत, धनगढी र रुपन्देहीमा हवाई उद्धार टोलीलाई आवश्यक हवाई साधनसहित तयारी अवस्थामा राखेको छ । सेनाका सबै पृतना तथा गणलाई उच्च सतर्क अवस्थामा राख्दै थप सात हजार ५२४ जनाको विपत् प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभयो ।
सम्भावित विपत्का घाइतेको तत्काल उपचारका लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी तथा सातै प्रदेशका सैनिक फिल्ड अस्पतालमा आकस्मिक स्वास्थ्य टोली र आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको छ ।
सशस्त्र प्रहरी बलले जोखिमयुक्त क्षेत्रमा १० हजार ५८५ सुरक्षाकर्मी परिचालन गरेको छ । उद्धारका लागि ८२ वटा र्याफ्ट बोट, ५३ वटा मोटरबोट तथा तालिमप्राप्त गोताखोर, मेडिकल र ड्रोन टोली तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
नेपाल प्रहरीले पनि आठ हजार ११० प्रहरीलाई उद्धार सामग्रीसहित तयारी अवस्थामा राखेको छ । बागमती प्रदेशका रोसी, सुनकोशी, त्रिशूली र इन्द्रावती तथा मधेश प्रदेशका कमला, चारनाथ, बलान र बिहुल नदीका तटीय क्षेत्रमा माइकिङ तथा पूर्वसूचना अभियान सञ्चालन गरिएको प्रवक्ता काफ्लेले बताउनुभयो ।
काठमाडौँ उपत्यकाका १८ नगरपालिकाले पनि डुबान तथा पहिरोको जोखिम भएका क्षेत्रमा पूर्वतयारी तीव्र पारेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य संस्थालाई उच्च सतर्क अवस्थामा राख्दै जोखिमयुक्त जिल्लामा औषधी, स्वास्थ्य सामग्री र आवश्यक जनशक्तिको पर्याप्त मौज्दात राख्न निर्देशन दिएको छ ।


