नारायणगढ– मुग्लिन मलेखु विकल्प सडक छ तर प्राथमिकतामा छैन

 

 

शालिग्राम नेपाल ।
चितवन, १ असोज ।
तराई र राजधानी काठमाडौँ जोड्ने नारायणगढ–मुग्लिन–मलेखु सडकखण्डमा बर्सेनि पहिरोका कारण यातायात अवरुद्ध हुने समस्या बढ्दै गएपछि यसको विकल्पका रूपमा रहेको भण्डारा–मलेखु सडकलाई विस्तार गर्नुपर्ने बहस फेरि सुरु भएको छ ।
नारायणगढ–मुग्लिन सडकको दासढुङ्गादेखि मलेखुसम्मको क्षेत्रमा वर्षायाममा पटकपटक पहिरो जाने र घण्टौँसम्म यातायात अवरुद्ध हुने समस्या लामो समयदेखि रहँदै आएको छ । सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गको चर्चा हुने गरे पनि अवरोध हटेपछि त्यससम्बन्धी प्रयास अघि बढ्न नसकेको स्थानीयको भनाइ छ ।
चितवनको भण्डारादेखि धादिङको मलेखुसम्मको करिब ६२ किलोमिटर सडकलाई नारायणगढ–मुग्लिन सडकको विकल्पका रूपमा विकास गर्ने उद्देश्यले विसं २०६६ मा ट्र्याक खोलिएको थियो । चितवन र धादिङ दुई जिल्लामा पर्ने यस सडकको चितवनतर्फ साढे १२ किलोमिटर र धादिङतर्फ १३ किलोमिटर गरी करिब साढे २५ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ ।
कालोपत्रे भएको सडक सात मिटर चौडा रहेको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर मिलन घतानीले बताउनुभयो । उहाँका अनुसार धेरैजसो सडकखण्डमा अझै सिङगल ट्र्याक मात्र रहेकाले ठूला मालबाहक सवारीसाधन सञ्चालन गर्न सडक फराकिलो बनाउन आवश्यक छ ।
“ग्रामीण सडक भए पनि यहाँ ठूला पहिरो र ठूला नदी छैनन् । त्यसैले अन्य राजमार्गको तुलनामा यो मार्ग सुरक्षित विकल्प बन्न सक्छ,” इन्जिनियर घतानीले भन्नुभयो । उहाँले सडकलाई फराकिलो बनाउँदै उकालो तथा अप्ठ्यारो स्थानमा कटिङ गरेर स्तरोन्नति गर्न सके सुरक्षित वैकल्पिक मार्गका रूपमा विकास गर्न सकिने बताउनुभयो ।
नारायणगढ–मुग्लिन सडकको विकल्पका रूपमा ट्र्याक खोलिए पनि पर्याप्त बजेट निकासा हुन नसक्दा सडकले पूर्णता पाउन नसकेको घतानीले बताउनुभयो । पछिल्लो समय कृष्णभीरको पहिरोपछि सडक विभाग र जनप्रतिनिधिले समेत भण्डारा–मलेखु सडकलाई प्राथमिकताका साथ विस्तार गर्न चासो देखाएको उहाँको भनाइ छ ।
चितवन निर्वाचन क्षेत्र नं. १ का सांसद हरि ढकालले नारायणगढदेखि मलेखुसम्मको सडकको विकल्पका रूपमा भण्डारा–मलेखु सडक विस्तार गर्ने गरी पहल भइरहेको बताउनुभयो । उहाँका अनुसार सडक विस्तारका लागि थप बजेट व्यवस्थापन गर्ने विषयमा पहल भइरहेको छ ।
“सधैँभरि यही समस्या कायम राखेर बस्न हुँदैन । वैकल्पिक सडक भएकाले यसैलाई थप बजेट निकासा गरेर विस्तार गर्ने योजनामा लागेका छौँ,” सांसद ढकालले भन्नुभयो, “सम्बन्धित निकाय र अर्थ मन्त्रालयसँग कुरा भएको छ । दसैँअघि थप बजेट निकासा गरेर काम अघि बढ्ने विश्वास लिएको छु ।”
सडक डिभिजन कार्यालय नुवाकोटका सूचना अधिकारी सुदीप कार्कीले धादिङतर्फ कालोपत्रे भएको १३ किलोमिटर सडकमा अहिले पनि साना सवारीसाधन सञ्चालन भइरहेको बताउनुभयो । ठूला मालबाहक सवारीसाधन सञ्चालन गर्न सडक फराकिलो बनाउनुका साथै उकालो स्थानमा कटिङ गरी सडक मिलाउनुपर्ने उहाँको भनाइ छ।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भण्डारा–मलेखु सडकमा भइरहेको सानो–सानो बजेट विनियोजन रोक्दै एकीकृत रूपमा ठूलो योजना अघि बढाउनुपर्ने बताउनुभयो । “समयअनुसार विकासका पूर्वाधार वृद्धि गर्दै लैजानुपर्छ । अब एउटा मात्र विकल्पमा राज्य जानु हुँदैन,” उहाँले भन्नुभयो । आफू अर्थमन्त्री भएका बेला दीर्घकालीन योजनाअनुसार यस सडकको विकास सुरु भएको बताउँदै उहाँले अहिलेसम्म सडक विस्तारको ठोस कार्यक्रम आउन नसकेको बताउनुभयो ।
राप्ती नगरपालिका प्रमुख शमशेर लामाले काठमाडौँलाई तराईसँग जोड्ने वैकल्पिक मार्ग भए पनि समयमा ठूलो लगानी गरेर विस्तार गर्न नसक्दा यसको उपयोग हुन नसकेको बताउनुभयो। सडक निर्माण पूरा भए काठमाडौँ आवतजावतका लागि छोटो वैकल्पिक मार्ग बन्न सक्ने उहाँको भनाइ छ ।
डिभिजन सडक कार्यालय भरतपुरका अनुसार भण्डारा–मलेखु सडकखण्डअन्तर्गत वासवाङनजिकको पहाडमा करिब तीन किलोमिटर सुरुङ निर्माण गर्न सके सडकको लम्बाइ करिब ४८ किलोमिटरमा झार्न सकिन्छ । हाल भण्डारा–नारायणगढ–मुग्लिन–मलेखुको दूरी करिब ११४ किलोमिटर रहेको छ ।

शेयर गरौ

ताजा अपडेट