आज हरितालिका तीज मनाइदै

 

चितवन । हिन्दुको महान् चाड हरितालिका तिज आइतबार दर खाएर सुरु भएको पर्व आज ब्रत वसेर मनाउदै छन् । महिला दिदीबहिनीले आइतबार दर खाएर सकिएपछि आज सोमबार दिनभर व्रत बसेर आआफ्नो श्रीमान् तथा घरपरिवारको सुख समृद्धिको कामना गरिराखेका छन् ।

तिजको दिन निराहार व्रत बस्ने भएकाले त्यसका लागि शक्ति प्राप्त गर्न अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने गरिन्छ । माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ ।

परम्परागत रूपमा तिजको दर माइतीघरमा मात्र खाने गरिन्छ । केही वर्षदेखि भने राजधानी तथा अन्य क्षेत्रमा एक महिनाअघिदेखि नै दर खाने प्रचलन चलेको छ तर यस वर्ष भोटेकोशीको बाढीपछि तिजको रौनकमा कमी देखिएको छ । पोषणविद् डा। अरुणा उपे्रतीका अनुसार तिजको दर खाँदा स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने तत्व, अखाद्य वस्तु, रङ हालेका मिठाई तथा विषादी हालेका तरकारी र फलफूल खानु हुन्न । सजाएर राखिएका मिठाई तथा फलफूलभन्दा घरमै बनाइएका ताजा परिकार खाएर तिज मनाउन उहाँको सुझाव छ ।

तिज पर्वमा विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको ज्योतिष विशाल गौतमले जानकारी दिनुभयो ।

महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन् । तिजको अवसरमा गीतका माध्यमबाट दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् । ज्योतिष गौतमका अनुसार दर खाएपछि औपचारिक रूपमा सुरु हुने तिज पर्व ऋषिपञ्चमीसम्म मनाइन्छ । उहाँले तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तिज समापन हुने जानकारी दिनुभयो ।

परापूर्वकालमा देवी पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाउन निराहार प्रत बसेको र उहाँको कामना पूरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्ने चलन रहेको छ । हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाले शिवको पूजा तथा दर्शन गर्ने गर्दछन् ।

यसबिच यस वर्षको हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था मिलाइएको छ । पशुपति क्षेत्र विकास कोषले तिज पर्वलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाउँदै तिजका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सोमबार पशुपतिनाथ मन्दिरको चार वटा द्वार बिहान ३स्०० बजे नै खोलिएको थियो ।

कोषका अनुसार विगतका वर्ष जस्तै यस पटकको तिजमा विशेष पूजा, विशेष दर्शनको व्यवस्था मिलाइएको छ । त्यस्तै दर्शनार्थीलाई सहज मन्दिर दर्शनका लागि सोमबार बिहान मन्दिर खुलेदेखि उत्तर, पूर्व र दक्षिणतर्फको ढोकामा पारदर्शी जारी राखेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

भिडभाडलाई व्यवस्थित गर्न दर्शन मार्ग मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलको आआफ्नै कमान्ड पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाइएको छ । यसै गरी कोषका अनुसार महिला व्रतालु भक्तजनको आत्मसम्मानलाई ध्यानमा राख्दै यस वर्ष पनि सामान्यतया पुरुष प्रवेश गर्न नपाउने नीतिलाई यस वर्ष निरन्तरता दिइएको छ ।

शेयर गरौ

ताजा अपडेट