काठमाडौँ, । भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत् आयोजनाका सुरुङ तथा भग्नावशेषमा बेपत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन् ।
जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठुला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनियाँ, कोरियाली र संयुक्त अरब इमिरेट्स ९युएई० का टोली फिर्ता भएका हुन् । नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा नेपाली सेनाका १३ र भारतीय टोलीका ११ गरी २४ जना खोजीमा खटिएका छन् । सुरुङभित्र करिब ७० मिटर गेग्य्रान हटाउने काम भइरहेको छ ।
उक्त टनेलसम्म भारी उपकरण पुर्याउन नेपाली सेनाले चट्टानी भूभागमा ‘ब्लास्टिङ’ गरी पहुँचमार्ग तयार गरेको छ । उपकरणको पहुँच विस्तार भएपछि थप खोजी गर्न सहज हुने अपेक्षा गरिएको छ । बाढीले क्षति पुर्याएको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाको अडिट–३ सुरुङमा नेपाली सेना र अस्ट्रेलियाली डार्ट टोलीले खोजी गरिरहेका छन् । सुरुङबाट पानी बाहिर आइरहेकाले भित्र प्रवेशमा चुनौती थपिएको जनाइएको छ । हाकुबेँसीस्थित अडिट–१ मा नेपाली सेना र अस्ट्रेलियाली गरी १६ जनाको उद्धार टोली परिचालित छ ।
त्यसै गरी २० मेगावाटको लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा नेपाली सेनाका ३५ जनाले खोजी जारी राखेका छन् । निकासमार्गतर्फ जाने करिब १० मिटर लामो, तीन फिट चौडा र चार फिट अग्लो प्रवेशद्वारमा माटो तथा ठुला चट्टान भेटिएपछि हटाउने काम भइरहेको छ । सुरुङभित्र हालसम्म कोही फेला नपरेको जनाइएको छ । ६० मेगावाटको त्रिशूली–३ ‘ए’ आयोजनामा सेनाका ३३, नेपाल प्रहरीका ११ र सशस्त्र प्रहरीका १० जनाको टोली परिचालित छ । अविरल वर्षाका कारण पावर हाउस प्रवेश गर्ने सुरुङको मुख पहिरोले पुरिएपछि खोल्ने प्रयास भइरहेको जनाइएको छ ।
३७ मेगावाटको त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ९८ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १० जना खोजीमा छन् । आयोजनाको आवासगृह क्षेत्रमा गहिराइसम्म उत्खनन भइरहेको छ । नदीको सतह समुद्री सतहबाट ६५३ मिटरमा रहे पनि ६५१ मिटर गहिराइसम्म उत्खनन गर्दा भवनको संरचना फेला नपरेको जनाइएको छ । १२० मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा नेपाली सेनाका पाँच र अस्ट्रेलियाली डार्ट टोलीका चार गरी नौ जना खोजीमा छन् । सुरुङमा भारी उपकरण आवश्यक भए पनि भौगोलिक अवस्थाका कारण पुर्याउन कठिनाइ भएको छ । आयोजनाको पावर हाउस, ‘ट्रान्सफर्मर रुम’ र ‘कन्ट्रोल प्वाइन्ट’ सम्म संयुक्त टोली पुगिसकेको जनाइएको छ ।
भग्नावशेषमा छुट्टै संयन्त्र
प्राधिकरणका प्रवक्ता महतले सुरुङभित्रको खोज तथा उद्धारसँगै अन्य भग्नावशेषमा समेत खोजी जारी राख्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार स्याफ्रुबेँसी, टिमुरे, मैलुङ, वेत्रावती, देवीघाटलगायत बाढीबाट बढी क्षति भएका क्षेत्रमा प्रहरी, स्थानीय तह, जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय तथा घरधनी वा आफन्तसहितको संयन्त्र बनाएर खोज तथा उद्धार सञ्चालन गरिने छ ।
“बाढीले क्षतिग्रस्त निजी तथा सार्वजनिक भग्नावशेषभित्रको खोजी तथा उद्धार थप संवेदनशील हुन्छ । कतिपय महत्वपूर्ण वस्तुको सङ्कलन र संरक्षणका लागि छुट्टै संयन्त्र तयार गरी यथासक्य छिटो परिचालन गर्ने तयारीमा छौँ,” प्राधिकरणका प्रवक्ता महतले भन्नुभयो । उहाँले नेपाली सुरक्षा निकायसहितको टोलीले सुरुङ तथा आयोजनाका विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्य निरन्तर गरिरहेको पनि जानकारी दिनुभयो ।


