जापानको अनुभव लिएर भरतपुरमा स्पाइसी हर्ब होटल

चितवन, २७ भदौ  । जापानको राजधानी टोकियोमा दुई दशकदेखि रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएको स्पाइसी हर्ब समूहले भरतपुरमा ‘चितवन स्पाइसी हर्ब’ होटल तथा रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ। जापानमा आर्जन गरेको अनुभव, सीप र व्यवस्थापन शैलीलाई नेपालमा उपयोग गर्ने उद्देश्यले भरतपुर महानगरपालिका–१०, दीपेन्द्रचोकमा होटल सञ्चालनमा ल्याइएको हो।

होटलका सञ्चालक प्रकाश आचार्यले पारिवारिक तथा संस्थागत कार्यक्रमका लागि सहज, स्वच्छ र गुणस्तरीय सेवा दिने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको बताउनुभयो। शहरी क्षेत्रमा रेस्टुरेन्ट संस्कृति विस्तार भइरहेका बेला पारिवारिक वातावरणमा खाना तथा आवासको सुविधा उपलब्ध गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो।

“बढ्दो शहरीकरणसँगै रेस्टुरेन्ट संस्कृति विस्तार भइरहेका बेला पारिवारिक वातावरणमा खाना खुवाउन सकिने गरी होटल सञ्चालनमा ल्याएका छौँ,” उहाँले भन्नुभयो।

करिब पाँच करोड रुपियाँ लगानीमा सञ्चालनमा आएको होटलमा १२ वटा डिलक्स कोठा रहेका छन्। होटलमा फरक डिजाइनका दुई वटा गोलाकार कोठासमेत निर्माण गरिएको छ।

होटलमा विभिन्न क्षमताका तीन वटा हल छन्। ६० जना क्षमताको एउटा तथा ३०–३० जना क्षमताका दुई वटा हल रहेको सञ्चालक आचार्यले जानकारी दिनुभयो। त्यस्तै, एक सय जनासम्म अट्ने रेस्टुरेन्ट, दुई सय जना क्षमताको रूफटप रेस्टुरेन्ट तथा एक सयभन्दा बढी मानिस अट्ने खुला रेस्टुरेन्टको व्यवस्था गरिएको छ।

स्पाइसी हर्ब समूहले जापानमा सञ्चालन गरेको करिब दुई दशकको रेस्टुरेन्ट व्यवसायको अनुभवलाई भरतपुरमा समेत प्रयोग गर्ने जनाएको छ। जापानी, भारतीय, चिनियाँ तथा दक्षिण एसियाली परिकारलाई फ्युजन गरी ग्राहकलाई फरक स्वाद उपलब्ध गराउने प्रयास गरिएको सञ्चालक आचार्यले बताउनुभयो।

समूहले जापानको रेस्टुरेन्ट व्यवसायबाट हासिल गरेको अनुभव र व्यवस्थापन पद्धतिलाई नेपालमा विस्तार गर्दै स्थानीय ग्राहकको आवश्यकता र रुचिअनुसार सेवा उपलब्ध गराउने जनाएको छ।

शेयर गरौ

ताजा अपडेट