चितवन, भदौ २० गते । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालन हुने परीक्षाका लागि परीक्षा केन्द्र निर्धारणमा समान मापदण्ड लागू नभएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् । सीटीईभीटीअन्तर्गतका केही पोलिटेक्निक इन्स्टिच्युट तथा प्राविधिक शिक्षालयका विद्यार्थीले आफ्नै संस्थामा परीक्षा केन्द्र (होम सेन्टर) कायम गरिएको तर अन्य संस्थाका विद्यार्थीलाई भने अध्ययनरत संस्थाभन्दा बाहिर परीक्षा केन्द्र तोकिएको भन्दै आपत्ति जनाएका हुन् ।
आन्दोलनरत विद्यार्थीले शनिबार भरतपुरको चौबिसकोठीमा विरोध जुलुस प्रदर्शन गर्दै परीक्षा केन्द्र निर्धारणको मापदण्ड सार्वजनिक गर्न र सबै संस्थामा समान व्यवस्था लागू गर्न माग गरेका छन् ।विद्यार्थीका अनुसार सीटीईभीटीअन्तर्गतका ५१ वटा पोलिटेक्निक इन्स्टिच्युट तथा प्राविधिक शिक्षालयमा आफ्नै संस्थामा परीक्षा केन्द्र कायम गरिएको देखिएको छ । एउटै परिषद्अन्तर्गत सञ्चालन हुने परीक्षामा केही संस्थाका विद्यार्थीलाई होम सेन्टर र अन्यलाई बाहिरी केन्द्र तोकिनुको आधार र मापदण्ड स्पष्ट हुनुपर्ने उनीहरूको माग छ ।
आन्दोलनरत विद्यार्थी युनिक सुनारले परीक्षा निष्पक्ष र मर्यादित रूपमा सञ्चालन गर्नुपर्नेमा आफूहरूको कुनै आपत्ति नरहेको बताउँदै परीक्षा केन्द्र निर्धारणमा भने पारदर्शिता र समानता आवश्यक रहेको बताउनुभयो । “होम सेन्टर राख्न मिल्ने व्यवस्था हो भने सबै संस्थाका लागि समान मापदण्ड लागू हुनुपर्छ,” उहाँले भन्नुभयो, “होम सेन्टर राख्न नमिल्ने हो भने केही संस्थामा मात्र किन यस्तो व्यवस्था गरिएको हो, सीटीईभीटीले स्पष्ट पार्नुपर्छ ।”
विद्यार्थीहरूले परीक्षा केन्द्र निर्धारणमा फरक–फरक व्यवस्था गरिँदा आफूहरूबीच असमान व्यवहार भएको अनुभूति भएको बताएका छन् । उनीहरूले विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षा प्रणालीमा कुनै पनि प्रकारको विभेद हुन नहुने भन्दै केन्द्र निर्धारणका आधार, मापदण्ड र प्रक्रियाबारे सीटीईभीटीले स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।
विद्यार्थीहरूले परीक्षा सञ्चालनलाई निष्पक्ष र मर्यादित बनाउन केन्द्र निर्धारण प्रक्रियासमेत पारदर्शी, वस्तुनिष्ठ र सबै संस्थाका लागि समान हुनुपर्ने बताएका छन् ।


