इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीचको खेलमा सुरक्षा व्यवस्था कडा

 

काठमाण्डौ । फिफा विश्वकप फुटबलमा इङ्ग्ल्यान्ड र साविक विजेता अर्जेन्टिनाबीच हुने दोस्रो सेमिफाइनल खेलका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अमेरिकाको एटलान्टा रङ्गशालामा आज राति पौने १ बजे विश्व फुटबलका पुराना प्रतिद्वन्द्वीबीच हुने खेलअघि ऐतिहासिक तथा राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच ‘फकल्यान्ड्स’ युद्ध भएको थियो । ७४ दिनसम्म चलेको यो युद्धमा ६४९ अर्जेन्टिनी सैनिक, २५५ बेलायती लडाकु र ३ जना सर्वसाधारणको ज्यान गएको थियो । अर्जेन्टिनामा ‘लास माल्भिनास’ का रूपमा चिनिने यो बेलायती विदेशी भूभाग अहिलेसम्म पनि दुई देशबीचको सार्वभौमिकता सम्बन्धी विवादको विषय बनेको छ ।
अन्तिम १६ को खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले हराएपछि खेलाडीहरूले ‘फल्कल्यान्ड्स’ टापु तथा अर्जेन्टिनाका खेलाडीहरू डिएगो म्याराडोना र लियोनेल मेसीको नाम लिँदै गीत गाइरहेको भिडियो सार्वजनिक भएको थियो । सन् १९८६ को विश्वकपको क्वाटरफाइनलमा इङ्ग्ल्यान्डसँगको खेलमा म्याराडोनाले गोल गर्दै अर्जेन्टिनालाई जिताएका थिए । यस्तै मेसीले पहिलो पटक इङ्ग्ल्यान्डको सामना गर्न लागेका हुन् ।
विश्वकपमा इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच अहिलेसम्म ५ पटक प्रतिस्पर्धा भएकोमा दुवै टोलीले ३–३ खेल जितेका छन् । अहिलेसम्म अर्जेन्टिनाले ३ र इङ्ग्ल्यान्डले १ पटक उपाधि जितेका छन् ।

शेयर गरौ

ताजा अपडेट