मुग्लिन–नारायणगढ सडकमा पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक

चितवन, ३० असार ।
अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा विभिन्न स्थानमा पहिरो र माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको छ । लगातारको वर्षा र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सोमबार साँझदेखि विभिन्न स्थानमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो । सडकमा अलपत्र परेका यात्रु तथा सवारीसाधनलाई सोमबार राति अबेरसम्म पहिरो हटाएर सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको थियो।
तर, मंगलबार बिहान ६ः३० बजेसम्म पनि निरन्तर वर्षा भइरहेका कारण पहिरोको जोखिम कायम रहेको छ । जलवीरे नजिक पुनः पहिरो झरेपछि सडक खुलाउन आवश्यक मेसिन परिचालन गरिसकिएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार निरन्तर वर्षा र पहिरोको उच्च जोखिमका कारण विपद् व्यवस्थापन समितिको आपत्कालीन बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडकखण्डमा सवारी सञ्चालन रोक्ने निर्णय गरेको हो ।

प्रशासनले मुग्लिन–नारायणगढ सडक हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा सुरक्षाकर्मीको निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
अहिलेपनि पानी पर्ने र पहिरो जाने क्रम नरोकिएकाले यस सडक भएर यात्रा नगर्न अनुरोध गरिएको छ । चितवनको भरतपुर, पूर्वी चितवन र जिल्लाका दर्जनौ स्थानमा जलमग्न भएर जनजीवन प्रभावित भएको छ । भरतपुरका धेरै विद्यालयहरु आज सञ्चालन गर्न नसकिने भन्दै सूचना जारी गरेका छन् ।

 

शेयर गरौ

ताजा अपडेट