चितवनमा भोटेकोशी बाढीको प्रभाव कम

चितवन, १० भदौ ।
रसुवाको भोटेकोशीमा आएको बाढीको प्रभाव चितवन आइपुग्दा कम भएको छ । बुधबार अपराह्न करिब ४ बजे नारायणगढ आइपुगेको बाढीले जिल्लामा अहिलेसम्म मानवीय तथा भौतिक क्षति पु¥याएको छैन । यद्यपि, त्रिशूली नदीको बहाव बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै देवघाटधामका नदी किनारमा रहेका वृद्धाश्रम तथा बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले रसुवामा आएको ठूलो बाढीको प्रभाव चितवन आइपुग्दा कम भएको बताउनुभयो । नारायणगढ क्षेत्रमा करिब ४ बजे बाढी आइपुगे पनि नदीले खतराको चिन्ह पार नगरेको उहाँले जानकारी दिनुभयो । “अहिलेसम्म मानवीय क्षति भएको छैन । अन्य समयमा आउने जस्तै बाढी आएको हो,” उहाँले भन्नुभयो । बाढी मेघौली क्षेत्रबाट समेत दक्षिणतर्फ पुगे पनि कुनै क्षति नभएको शर्माले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय चितवनले नदीको बहाव र सम्भावित जोखिमबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्याल आफैँ फिल्डमा खटिएर बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्रको अवस्थाबारे जानकारी लिइरहनुभएको छ ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै देवघाटधामस्थित त्रिशूली र कालीगण्डकी नदी किनारमा रहेका वृद्धाश्रम तथा बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम गरिएको छ । नदी किनारमा रहेको आश्रममा बाढीको जोखिम बढेपछि प्रहरी, युवा तथा स्थानीयवासीको सहयोगमा वृद्धवृद्धालाई विद्यालय परिसरलगायत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार देवघाटधामको नदी किनारमा रहेका वृद्धाश्रम तथा बस्तीमा जोखिम बढेपछि प्राथमिकताका आधारमा वृद्धवृद्धालाई सुरक्षित स्थानमा सारिएको छ । उद्धारमा खटिनुभएका युवा हरि आचार्यका अनुसार देवघाटस्थित रोटरी करुणालय आश्रममा रहेका वृद्धवृद्धासहित नदी किनारका अन्य आश्रम तथा बस्तीका बासिन्दालाई समेत सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।
देवघाटको चितवनतर्फ र तनहुँतर्फ त्रिशूली तथा कालीगण्डकी नदी किनारमा रहेका जोखिमयुक्त बस्तीका बासिन्दालाई समेत सुरक्षित स्थानमा सार्ने काम भइरहेको आचार्यले बताउनुभयो । बाढीको बहाव बढ्दै गएपछि देवघाटधाम क्षेत्रमा नदी किनारमा बसोबास गर्ने नागरिकमा त्रास बढेको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै चितवन प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको छ । नदीको जल सतह र बहावको अवस्था हेरी थप जोखिमयुक्त क्षेत्रका बासिन्दालाई समेत सुरक्षित स्थानमा सार्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।
प्रशासनले नदीको बहाव जुनसुकै बेला बढ्न सक्ने भएकाले नदी किनारमा नजान, सुरक्षित स्थानमा बस्न तथा प्रशासन र सुरक्षा निकायले दिएको निर्देशन पालना गर्न आग्रह गरेको छ । यसैबीच, बाढीसँगै नदीमा बगेर आएका काठलगायत सामग्री लिन स्थानीयवासी नदी किनारमा भेला हुन थालेका छन् । जोखिमपूर्ण अवस्थामा नदी किनारमा नजान प्रशासनले आग्रह गरेको छ ।

शेयर गरौ

ताजा अपडेट