भोटेकोशी बाढीले धादिङका पाँच पक्की पुल बगायो

 

चितवन, १० भदौ ।
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले धादिङमा ठूलो भौतिक क्षति पु¥याएको छ । बाढीले सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने फुर्केखोलाको पक्की पुलसहित जिल्लाका कम्तीमा पाँच वटा पक्की पुल बगाएपछि सदरमुकामसँगको मुख्य सडक सम्पर्क विच्छेद भएको छ ।
बाढीले धादिङबेँसी–पृथ्वीराजमार्ग जोड्ने फुर्केखोला–परेवाटार पक्की पुल बगाएको हो । गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ जोड्ने उक्त पुल बगेपछि पृथ्वीराजमार्ग हुँदै सदरमुकाम धादिङबेँसी जाने सहज सडक सम्पर्क टुटेको छ ।
यसैगरी बाढीले गल्छी गाउँपालिकाको बैरेनी–स्यालटार जोड्ने पक्की पुल, केउरेनी–कोसीखोला जोड्ने पुल, घाटबेँसीस्थित पिपलटार–घाटबेँसी जोड्ने पुल र जरेखेत–कुम्पुर जोड्ने पक्की पुलसमेत बगाएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।
बाढीका कारण त्रिशूली नदी तटीय क्षेत्रका बस्ती र बजारमा समेत ठूलो क्षति पुगेको छ । गल्छी गाउँपालिका–८ को निबुवाबोटे, महेशदोभान, बैरेनी बजार, घाटबेँसी, बेल्खु, जरेखेत, फुर्केखोला, मलेखु र बेनीघाटलगायतका क्षेत्रमा घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । नदीको कटानका कारण पृथ्वीराजमार्गको केही भागसमेत प्रभावित भएको छ ।
त्रिशूलीमा बाढीको बहाव बढेपछि गल्छी गाउँपालिका–६ स्थित बैरेनी बजारमा समेत बाढी पसेर जलमग्न भएको छ । महेशदोभानबाट आएको भेल बजारतर्फ फर्किएपछि बैरेनी बजार प्रभावित भएको हो । बाढीले घर, टहरा र झोलुङ्गे पुलसमेत बगाएको उहाले जानकारी दिनुभयो ।
पुलहरू बगेपछि पृथ्वीराजमार्ग हुँदै धादिङबेँसी जाने र सदरमुकामबाट बाहिरिने यात्रामा समस्या भएको छ । फुर्केखोला पुल बगेपछि सदरमुकामसँगको मुख्य सडक सम्पर्क टुटेकाले जिल्लाको आपूर्ति व्यवस्थासमेत प्रभावित हुन थालेको छ । धादिङबेँसीमा ग्यास, पेट्रोलियम पदार्थ तथा खाद्यान्नको अभाव देखिन थालेको र केही स्थानमा उपभोक्ताको भीड बढेको विवरणसमेत आएको छ ।

बाढीको जोखिम बढेपछि प्रशासनले त्रिशूली नदी तथा अन्य खोला किनारका जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कामसमेत अघि बढाएको उहाले जानकारी दिनुभयो । सुरक्षा निकाय तथा विपद् व्यवस्थापनका टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । समयमै नदी किनारमा आवतजावत रोकिएकाले अहिलेसम्म मानवीय क्षति नभएको प्रशासनले जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले बाढीबाट भएको क्षतिको विवरण सङकलन गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक योजना बनाएको छ । क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण तथा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन संघ र प्रदेश सरकारसँग सहयोग माग्ने तयारी गरिएको छ ।
बाढीले जिल्लाका विभिन्न पुल तथा सडक संरचनामा क्षति पु¥याएपछि त्रिशूली तटीय क्षेत्रको आवागमन र दैनिक जनजीवन प्रभावित भएको छ । तत्काल क्षतिग्रस्त पुल तथा सडकको वैकल्पिक व्यवस्था गरी आपूर्ति र आवागमन सहज बनाउन स्थानीयवासीले सरकारसँग माग गरेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जिल्लामा विभिन्न कार्यालयमा काम गर्ने कर्मचारी तथा जिल्ला बाहिर रसुवा नुवाकोट गएका र सम्पर्कमा नआएका व्यक्तिहरुको विवरण संकलन गर्ने काम भइराखेको जानकारी दिनुभयो ।

 

 

शेयर गरौ

ताजा अपडेट