स्विट्जरल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

 

काठमाडौं, २८ असार । साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

कान्सास सिटीमा सम्पन्न क्वार्टरफाइनलमा अर्जेन्टिनाले खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलबाट अग्रता लिएको थियो। तर ६७औँ मिनेटमा डान एनडोयेले स्विट्जरल्यान्डका लागि बराबरी गोल फर्काएपछि खेल निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएको थियो। त्यसपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन आल्भारेजले शानदार गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। खेलको अन्तिम क्षणमा लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिनाले ३–१ को जित निकाल्दै अन्तिम चारमा स्थान बनायो।

खेलमा कप्तान लियोनेल मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो गोलका लागि निर्णायक कर्नर उपलब्ध गराएका थिए। उक्त असिस्टसँगै मेस्सी विश्वकप इतिहासमा सर्वाधिक १० असिस्ट गर्ने पहिलो खेलाडी बनेका छन्।

यो जितसँगै अर्जेन्टिनाले सेमिफाइनलमा इङ्ल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन आमनेसामने हुनेछन्।

शेयर गरौ

ताजा अपडेट