पत्रकार विनोदबाबु रिजालको ‘नैबेद’ सार्वजनिक

चितवन ।
पत्रकार तथा लेखक विनोदबाबु रिजालको दोस्रो कृति ‘नैबेद’ कथासंग्रह सार्वजनिक गरिएको छ । यसअघि लकडाउन डायरी ‘एकान्तबास’ प्रकाशित गरिसकेका रिजालको नयाँ कृतिलाई शिखा बुक्सले प्रकाशन गरेको हो । पुस्तकको लोकार्पण अक्षर समूह चितवनले आइतबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा सम्पन्न भयो ।
लेखक रिजालका बुवाआमा तथा छोराछोरीसँगै कवि भूपिन, एक्सपर्ट चितवनका मेनेजर नरहरि पौडेल ‘किरण’ र अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले संयुक्त रूपमा कृतिको विमोचन गर्नु भएको थियो ।
विमोचनपछि कवि भूपिनले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै ‘नैबेद’ समकालीन नेपाली समाजका विविध संकट र यथार्थलाई केन्द्रमा राखिएको सशक्त कथासंग्रह भएको बताउनुभयो । उहाका अनुसार यस संग्रहका कथाले मनोरञ्जनभन्दा बढी पाठकलाई विचार, प्रश्न र आत्ममन्थनतर्फ डो¥याउँछन् ।
उहाले विज्ञान, शिक्षा, अन्धविश्वास, वैदेशिक रोजगारी, प्रेम, राजनीति, अपराध, महामारी र मनोविज्ञानजस्ता विविध विषयलाई कथामार्फत प्रस्तुत गरिएको उल्लेख गर्दै समकालीन नेपाली समाजको मानसिक, सामाजिक र सांस्कृतिक संक्रमणलाई कलात्मक रूपमा अभिव्यक्त गरिएको बताउनुभयो ।
कार्यक्रममा लेखक रिजालसँग अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले संवाद गर्नु भएको थियो । संवादमा ‘नैबेद’को लेखन प्रक्रिया, कथाको संरचना तथा लेखकका साहित्यिक रुचिका विविध पक्षबारे छलफल भएको थियो । कार्यक्रमको सहजीकरण साथै स्वागत अक्षर समूहका पूर्वअध्यक्ष रमेश प्रभातले गर्नु भयो । शिखा बुक्सबाट प्रकाशित ’नैबेद’ मा १४ वटा कथा समेटिएका छन् । पुस्तकको मूल्य रु. ५९५ निर्धारण गरिएको छ ।

 

शेयर गरौ

ताजा अपडेट