चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा–छोराको मृत्यु, घरमा समेत आगलागी

चितवन ।

चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट आमा र छोराको ज्यान गएको छ।

शनिबार राति करिब ११ बजे पूर्ण बोटेको घरमा पसेको जंगली हात्तीले सुतिरहेकी उनकी २५ वर्षीया श्रीमती आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेमाथि आक्रमण गर्दा घटनास्थलमै दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

हात्ती धपाउने प्रयासमा पूर्ण बोटेले आगो बाल्ने क्रममा उनको कच्ची घरमा समेत आगलागी भएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना तथा इलाका प्रहरी कार्यालय गीतानगरबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो।

घटनापछि स्थानीयवासी त्रसित बनेका छन्। चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जंगली हात्तीको प्रवेश र मानव–वन्यजन्तु द्वन्द्वको समस्या वर्षेनी दोहोरिने गरेको स्थानीयको गुनासो छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

शेयर गरौ

ताजा अपडेट