चितवन ।
हजारौँदेखि लाखौँ मानिस सहभागी हुने राष्ट्रियस्तरका राजनीतिक, सामाजिक तथा व्यावसायिक कार्यक्रमलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्ने क्षमताका कारण चितवन ठूला कार्यक्रमका लागि देशकै भरपर्दो गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
२०७८ सालमा सम्पन्न भएको नेकपा एमालेको १०औँ महाधिवेशनदेखि हाल भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनसम्मका कार्यव्रmमले चितवनको व्यवस्थापन क्षमता फेरि एकपटक प्रमाणित गरेका छन् ।
असार ७ गतेदेखि सञ्चालन भइरहेको रास्वपाको महाधिवेशनको उद्घाटन समारोहमा मात्रै १५ हजारभन्दा बढी सहभागी भएका थिए । उनीहरूको आवास, सुरक्षा, यातायात व्यवस्थापन र कार्यक्रम सञ्चालन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले बताउनुभयो ।
“भरतपुरको मुख्य क्षेत्रमा आयोजना गरिएको कार्यव्रmममा सहभागीको सुरक्षा, सवारी साधनको पार्किङ तथा ट्राफिक व्यवस्थापनमा कुनै जटिलता आएन,“ उहाँले भन्नुभयो, “सर्वसाधारणको दैनिक जीवनमा पनि उल्लेख्य असर परेको गुनासो आएन ।”
यसअघि २०७८ मङसिरमा नारायणी नदी किनारमा उद्घाटन र सौराहामा बन्दसत्र भएको नेकपा एमालेको १०औँ महाधिवेशनमा पाँच लाखभन्दा बढी मानिस सहभागी भएको जिल्ला प्रहरी कार्यालयको अभिलेख छ । एमाले चितवनका अध्यक्ष कमलराज पाठकका अनुसार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सहभागिता १० लाखभन्दा बढी भएको उल्लेख गरेका थिए । सहभागीहरूको आवास व्यवस्थापन चितवनकै होटलहरूले गरेका थिए ।
चितवनमा राजनीतिक दलका महाधिवेशन मात्र होइन, अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, तरुण दल, नेपाल यातायात महासंघ, नेपाल पत्रकार महासंघलगायतका राष्ट्रियस्तरका अधिवेशन, साधारणसभा तथा विभिन्न ठूला कार्यक्रमहरू पनि सफलतापूर्वक सम्पन्न हुँदै आएका छन् ।
पर्यटन व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शङकर गिरीका अनुसार चितवनका होटलहरूले एकैपटक दशौँ हजार पाहुनालाई आवास उपलब्ध गराउने क्षमता राख्छन् ।
“देशको मध्यभागमा रहेको, सहज पहुँच, पर्याप्त होटल, खुला स्थान र राम्रो पूर्वाधार भएकाले चितवनमा जतिसुकै ठूला कार्यक्रम आयोजना गर्न सकिन्छ,” उहाँले भन्नुभयो । सौराहा, भरतपुर, नारायणगढ, मेघौली र जगतपुरलगायत क्षेत्रमा विभिन्न स्तरका होटल उपलब्ध भएकाले आयोजकले आफ्नो बजेटअनुसार सेवा लिन सक्ने उहाँको भनाइ छ । ठुला कार्यक्रम सम्पन्न हुदै गर्दा आर्थिक गतिविधि चलायमान हुने उहाले बताउनुभयो ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले नेपाल विद्यार्थी संघको अधिवेशनबाट प्रदीप पौडेल सभापति निर्वाचित भएको स्मरण गर्दै चितवनमा ठूला कार्यव्रmम आयोजना गर्न कुनै समस्या नरहेको बताउनुभयो । यद्यपि समयअनुकूल ठूलो क्षमताको इनडोर सभाहलको आवश्यकता अझै रहेको उहाँको भनाइ छ ।
भरतपुरको गेष्ट हाउस चौर अहिले विभिन्न राष्ट्रिय कार्यक्रमको प्रमुख उद्घाटनस्थलका रूपमा परिचित बनेको छ । तर वर्षायाममा पानी जम्ने समस्या भएकाले त्यसको दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको उहाँले बताउनुभयो ।
गेष्ट हाउस चौर व्यवस्थित हुँदै
भरतपुर महानगरपालिकाले गेष्ट हाउस चौरलाई आधुनिक र व्यवस्थित बनाउन आगामी आर्थिक वर्षका लागि एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार चौरमा माटो भरेर सम्याउने, पैदलमार्ग निर्माण गर्ने, घेराबार लगाउने तथा मञ्चलाई व्यवस्थित गर्ने योजना छ । चौरसँगै रहेको अर्को खाली जग्गामा पार्क निर्माणका लागि पनि एक करोड रुपियाँ छुट्याइएको छ । आवश्यक परे थप बजेटसमेत व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले जिससको स्वामित्वमा रहेको खुला चौर व्यवस्थित भएपछि ठूला कार्यक्रम सञ्चालन अझ सहज हुने बताउनुभयो । उहाँका अनुसार निर्माणाधीन २,५०० सिट क्षमताको सिटी हल र व्यवस्थित गेष्ट हाउस चौर सञ्चालनमा आएपछि गर्मी र वर्षा दुवै मौसममा राष्ट्रियस्तरका कार्यक्रम आयोजना गर्न चितवन अझ सक्षम हुनेछ । सिटी हलमा मुख्य सभाहलसँगै तीन वटा साना हल पनि रहनेछन् ।
हाल रास्वपाको महाधिवेशन चितवन उद्योग संघको वातानुकूलित सभाहलमा भइरहेको छ । संघका अध्यक्ष मदन घिमिरेका अनुसार तीनवटा हलको दैनिक भाडा चार लाख ५० हजार रुपियाँ रहेको छ । रास्वपाको महाधिवेशन ५ औ दिनसम्म यहाँ सञ्चालन भइराखेको छ । प्रत्येक हलमा कम्तीमा एक पाँचसय जना व्यक्ति सहज रूपमा अट्न सक्छन् ।
उहाँका अनुसार उद्योग तथा अन्तर्राष्ट्रिय प्रदर्शनीहरू नियमित रूपमा आयोजना हुँदै आएको यस स्थलमा विगतमा २० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी भएका कार्यक्रमसमेत सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।


