चितवन ।
प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टीभीईटी) क्षेत्रलाई नवप्रवर्तनमैत्री, प्रविधिमुखी र श्रम बजारको मागअनुकूल बनाउन सरोकारवालाहरूले जोड दिएका छन् ।
परिषद् बागमती प्रदेश कार्यालयले आयोजना गरेको “टीभीईटी क्षेत्रको विकास तथा नवप्रवर्तन कार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र तथा अन्य सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम” मा सहभागी वक्ताहरूले परम्परागत सीप विकासको ढाँचाभन्दा माथि उठेर नवप्रवर्तन, डिजिटल प्रविधि र उद्योगसँगको सहकार्यमा आधारित शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका हुन् ।
कार्यक्रममा बोल्दै बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव खुबिराम अधिकारीले बदलिँदो विश्व परिवेशसँगै प्राविधिक शिक्षालाई पनि रूपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नवप्रवर्तन र प्रविधिको प्रयोगमार्फत उत्पादनशील तथा प्रतिस्पर्धी जनशक्ति तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
बागमती प्रदेशका प्रमुख कार्यकारी निर्देशक शान्ति लामाले टीभीईटी क्षेत्रलाई केवल सीप प्रदान गर्ने माध्यमका रूपमा मात्र नभई नवप्रवर्तन र उद्यमशीलताको आधारका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। उद्योग तथा व्यवसाय क्षेत्रसँगको सहकार्यलाई सुदृढ गर्दै प्रशिक्षणलाई व्यवहारिक र रोजगारमुखी बनाउनुपर्ने उहाँको भनाइ थियो ।
नेपाल सरकारका पूर्वसचिव डा. हरि लम्सालले चौथो औद्योगिक क्रान्तिको युगमा प्राविधिक शिक्षाले कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्रविधि र नवप्रवर्तनलाई आत्मसात् गर्न नसके प्रतिस्पर्धामा पछि पर्ने चेतावनी दिनुभयो । उहाँले शिक्षालय र उद्योगबीचको सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा विभिन्न प्राविधिक शिक्षालयहरूले आफ्नो संस्थामा भएका असल अभ्यास, नवप्रवर्तनका प्रयास र आगामी चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए। स्कूल अफ हेल्थ साइन्स, बालाजु स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, जिरी प्राविधिक शिक्षालय तथा भरतपुर बहुप्राविधिक शिक्षालयले सीप विकास, रोजगार प्रवद्र्धन र उद्योगसँगको सहकार्यका अनुभवहरू साझा गरेका थिए ।
परिषद् बागमती प्रदेश कार्यालयका उपनिर्देशक सुमन पौडेलले स्वागत मन्तव्यका क्रममा ज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित अर्थतन्त्र निर्माणका लागि टीभीईटी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र तथा शैक्षिक संस्थाहरूबीचको सहकार्यले मात्रै गुणस्तरीय र परिणाममुखी प्राविधिक शिक्षा सुनिश्चित गर्न सकिने धारणा राख्नुभयो ।
परिषद् बागमती प्रदेश कार्यालयका निर्देशक हर्कलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शैक्षिक क्षेत्र, उद्योग–व्यवसाय, निजी क्षेत्र, स्थानीय तह र सञ्चार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले नवप्रवर्तन, डिजिटल प्रविधि, उद्योगसँगको साझेदारी र बजारको मागअनुसारको सीप विकासलाई प्राथमिकतामा राख्दै टीभीईटी क्षेत्रलाई थप प्रभावकारी, समावेशी र रोजगारमुखी बनाउनुपर्ने निष्कर्ष निकालेका छन् । कार्यक्रमबाट प्राप्त सुझावले प्रदेशको प्राविधिक शिक्षा तथा तालिम क्षेत्रको नीति निर्माण र सुधारमा महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ ।


