पार्टीलाई नयाँ शिराबाट अघि बढाउन युवा संघ अध्यक्ष गुरुङको आग्रह

 

भरतपुर, असार ६ —

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरुङ ले पार्टीलाई नयाँ शिराबाट अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्। राष्ट्रिय युवा संघ नेपाल चितवनको ११औँ जिल्ला अधिवेशनलाई शनिबार भरतपुरमा सम्बोधन गर्दै उनले समय र परिवेशअनुसार संगठन तथा पार्टीलाई रूपान्तरण गर्नुपर्ने बताए।

अध्यक्ष गुरुङले पुरानो विरासत जोगाउन नयाँ ढंगले अघि बढ्नुपर्ने उल्लेख गर्दै गएको निर्वाचनमा व्यहोरेको हारबाट पाठ सिक्नुपर्ने धारणा राखे। उनले चुनावअघि गलत रिपोर्टिङ र वास्तविक अवस्थाको सही मूल्याङ्कन हुन नसक्दा पार्टीले अपेक्षित नतिजा हासिल गर्न नसकेको बताए।

“जिल्ला–जिल्लाबाट सुधारको अनुभूति हुनुपर्छ। नेताहरूको बोली र व्यवहारबीच तालमेल मिल्न सकेन,” उनले भने, “अब युवाहरूलाई थप प्रोत्साहन गर्दै संगठनलाई गतिशील बनाउन आवश्यक छ।”

उनले राष्ट्रिय युवा संघलाई अझ चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी असोज महिनाभित्र देशभरका सबै जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए। समय र परिवेशलाई सही ढंगले बुझेर अघि बढ्न सके मात्रै संगठन सशक्त बन्ने उनको भनाइ थियो।

भरतपुरमा आयोजित अधिवेशन संघका जिल्ला अध्यक्ष सन्तोष श्रेष्ठ को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्यहरू जगन्नाथ थपलिया, कृष्णभक्त पोखरेल, यमबहादुर परियार, प्रभा बराल, निशा अधिकारी, एमाले चितवनका जिल्ला अध्यक्ष कमल पाठक तथा राष्ट्रिय युवा संघ नेपालका महासचिव महेश चौलागाईं लगायतको उपस्थिति रहेको थियो।

अधिवेशनले नयाँ जिल्ला नेतृत्व चयन गर्दै संगठनको आगामी कार्यदिशा तय गर्ने कार्यक्रम रहेको जिल्ला ईन्चार्ज शंकर अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार संगठन सुदृढीकरण, युवाको भूमिका विस्तार तथा आगामी रणनीतिबारे समेत अधिवेशनमा छलफल भएको छ ।

शेयर गरौ

ताजा अपडेट