तीर्थ नेपाल
चितवन ।
भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्रमा भूमिगत विद्युत् तार विस्तार गर्ने कार्य करिब ९० प्रतिशत सम्पन्न भएको छ। करिब १४० करोड रुपैयाँ लागतको यस आयोजनाअन्तर्गत १७ किलोमिटर क्षेत्रमा भूमिगत तार बिछ्याउने काम भइरहेको छ।
पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण परियोजना अन्तर्गत सञ्चालन भइरहेको यो कार्य भरतपुरको बाइपास रोड तथा सिक्सलेन सडक खण्डमा केन्द्रित छ। सन् २०२२ को डिसेम्बरबाट सुरु भएको परियोजनाका अधिकांश निर्माण कार्य सम्पन्न भइसकेका छन् भने हाल फिनिसिङको काम जारी रहेको छ।
परियोजनाका इन्जिनियर राजेन्द्र पौडेल का अनुसार सम्पूर्ण काम सन् २०२६ को जुलाई अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ। भूमिगत तारमार्फत विद्युत् प्रवाह सुरु भएपछि सडक किनारमा रहेका विद्युत् पोल तथा झुण्डिएका तारहरू हटाइनेछन्।
परियोजना सम्पन्न भएपछि भरतपुरको शहरी सौन्दर्यमा सुधार हुनुका साथै विद्युत् आपूर्ति थप सुरक्षित, व्यवस्थित र भरपर्दो बन्ने अपेक्षा गरिएको छ।


