चितवन ।
भरतपुर महानगरपालिका–११ स्थित नारायणी इंग्लिस पब्लिक स्कूलले शैक्षिक सत्र २०८३ का लागि विभिन्न लक्षित समूहका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ।
विद्यालयले सूचना जारी गर्दै भरतपुर महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि–२०८२ बमोजिम छात्रवृत्ति वितरण प्रक्रिया सुरु गरिएको जनाएको हो।
विद्यालय छात्रवृत्ति व्यवस्थापन समितिको २०८३ जेठ १५ गतेको निर्णयअनुसार विद्यालयमा अध्ययनरत कुल १ हजार २४६ विद्यार्थीमध्ये १५ प्रतिशत अर्थात् १८७ जना विद्यार्थीलाई विभिन्न कोटाअन्तर्गत छात्रवृत्ति प्रदान गरिनेछ।
विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार जेहेन्दार तथा गरिब/विपन्न विद्यार्थीका लागि ६९–६९ जना, आदिवासी/जनजातिका लागि २२ जना, दलितका लागि ११ जना, अपाङ्गता भएका विद्यार्थीका लागि ६ जना, सहिद तथा बेपत्ता परिवारका सन्तति, सशस्त्र द्वन्द्व र जनआन्दोलनका घाइतेका सन्ततिका लागि ६ जना तथा अल्पसंख्यक, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि ४ जनाको कोटा छुट्याइएको छ।
छात्रवृत्तिका लागि आवेदन दिँदा सम्बन्धित समूहअनुसार आवश्यक प्रमाणपत्र तथा सिफारिस कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने विद्यालयले जनाएको छ। अपाङ्गता भएका विद्यार्थीले अपाङ्गता परिचयपत्र, आदिवासी/जनजाति तथा दलित विद्यार्थीले सम्बन्धित निकायबाट प्रमाणित कागजात, सहिद तथा बेपत्ता परिवारका सन्ततिले जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित प्रमाणपत्र पेश गर्नुपर्नेछ।
त्यस्तै, गरिब तथा विपन्न समूहका विद्यार्थीले गरिब घर पहिचान परिचयपत्र वा वडा कार्यालयको सिफारिस पत्र तथा अनाथ, असहाय र विशेष संरक्षणमा रहेका बालबालिकाले सम्बन्धित वडा कार्यालयबाट प्रमाणित पत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
विद्यालयका प्राचार्य बेदराज न्यौपाने का अनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित विद्यालयमा आवेदन दर्ता गरिसक्नुपर्नेछ। निर्धारित समयभित्र प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको नामावली सार्वजनिक गरिने विद्यालयले जनाएको छ।


