चितवन । सिटिजन लाइफ इन्स्योरेन्स नारायणगढ शाखाले चितवनको माडी नगरपालिका–बसन्तपुरमा विमा सचेतना, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा माडी नगरपालिका वडा नम्बर ५ र ७ का टोल विकास संस्था तथा माडी बहुमुखी क्याम्पससँग सम्बन्धित प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका सदस्य बाबुराम सुवेदी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी माडी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष गणेश घताने, वडा नम्बर ७ की अध्यक्ष चन्द्राकुमारी बानियाँ विशिष्ट अतिथि रहनुभएको थियो । सामाजिक अगुवा भागिरथ बस्याल तथा होमस्टे संघ नेपाल बागमती प्रदेश उपाध्यक्ष जितबहादुर चापागाई लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सुवेदीले विमा सचेतना कार्यक्रमले विमाको महत्व, यसबाट प्राप्त हुने लाभ तथा माडी क्षेत्रमा विमाको वर्तमान अवस्थाबारे जानकारी गराउँदै जीवन विमा आजको आवश्यकता भएको बताउनुभयो । वडा नम्बर ५ का अध्यक्ष घतानेले घर तथा सम्पत्तिको विमा गर्ने चलन बढ्दै गए पनि मानिसहरूले आफ्नै जीवन विमालाई अझै सकारात्मक रूपमा लिन नसकेको धारणा राख्नुभयो ।
त्यस्तै वडा नम्बर ७ की अध्यक्ष बानियाँले यस्ता कार्यक्रमले स्थानीयवासीलाई जागरूक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा पनि सहकार्य गर्न वडा कार्यालय तत्पर रहेको उल्लेख गर्नुभयो । सहभागीहरूको तर्फबाट बोल्दै सामाजिक अगुवा बस्यालले विमाले आकस्मिक जोखिम न्यूनीकरणका साथै घातक रोगहरूको उपचारमा आर्थिक सहयोग पुग्ने भएकाले जीवन विमाको महत्व सबैले बुझ्नुपर्नेमा जोड दिनुभयो ।
सचेतना कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स का सीबीओ शिवकुमार कार्की तथा नारायणगढ शाखा प्रमुख गोकर्णबहादुर कार्की ले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विमाका फाइदा, भविष्यमा यसले प्रदान गर्ने सुरक्षा तथा आवश्यकताबारे छलफल गरिएको थियो ।
करिब ७० जनाको सहभागिता रहेको कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर लक्ष्मी लामिछाने ले स्वागत मन्तव्य राख्नुभएको थियो भने सभापतित्व माडी टिम प्रमुख स्वस्तिका नेपाल ले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन एमडीआरटी तथा सिनियर एजेन्सी म्यानेजर लक्ष्मण गौतम ले गर्नुभएको थियो ।


