चितवन |
राष्ट्रिय युवा संघ नेपाल चितवनको आयोजनामा संगठनको ३७औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ ।
भरतपुर महानगरपालिका–१५ श्रीपुरस्थित राष्ट्रिय सुस्त मनस्थिति कल्याण विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई सहयोग पुग्ने उद्देश्यले सामग्रीहरू हस्तान्तरण गरिएको हो ।
कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल चितवनका जिल्ला अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा नेकपा (एमाले) का केन्द्रीय सदस्य देवी ज्ञवाली रहनुभएको थियो ।
त्यस्तै अतिथिहरूमा एमाले चितवनका अध्यक्ष कमल पाठक, सचिव प्रकाश ढुङ्गाना तथा प्रदेश कमिटी सदस्य अस्मिन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले राष्ट्रिय युवा संघ नेपालको राजनीतिक तथा सामाजिक भूमिकाबारे चर्चा गर्दै संगठनले समाजसेवा, युवा परिचालन तथा विपद् व्यवस्थापनमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । साथै, यस्ता गतिविधिले सामाजिक उत्तरदायित्व अझ मजबुत बनाउने धारणा व्यक्त गरिएको थियो ।
सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले गरिएको यो कार्यक्रमले विद्यार्थीहरूको सिकाइ र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।


