भरतपुर ।
निर्माण व्यवसायीहरुले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिको सरकारले सम्बोधन नगरेको भन्दै आज भरतपुरका विभिन्न सरकारी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।
निर्माण व्यवसायी संघ चितवनको आयोजनामा पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय तथा भरतपुर महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिँदै व्यवसायीहरुले बजारमा निर्माण सामग्रीको मूल्य आकासिँदा पनि सरकारले त्यसको उचित सम्बोधन नगरेको गुनासो गरेका हुन् ।
उनीहरुले इन्धन लगायतका सामग्रीको मूल्यवृद्धिका कारण अधिकांश आयोजना प्रभावित भएको, लागत बढ्दा काम सम्पन्न गर्न कठिन भएको तथा व्यवसाय नै संकटमा परेको बताएका छन् । प्रदर्शनका क्रममा व्यवसायीहरुले कालोपट्टी बाँधेर शान्तिपूर्ण विरोध जनाएका थिए ।
धर्नामा सहभागीहरुले “मूल्यवृद्धिको सम्बोधन गर”, “निर्माण व्यवसायीलाई बचाउ” लगायतका नारासमेत लगाएका थिए । व्यवसायीहरुले सरकार र सम्बन्धित निकायले तत्काल समस्या समाधानतर्फ ध्यान नदिए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।
माग संबोधन नभए निर्माण कार्य ठप्प पारी आन्दोलनमा उत्रनुको बिकलप नरहेको निर्माण ब्यवसायी संघका चितवन अध्यक्ष दिनेश चन्द्र न्यौपानेले बताए ।
धरनामा संघका पूर्व केन्द्रीय सदस्य होमकुमार शर्मा , बागमती प्रदेश उपाध्यक्ष उमानन्द कंडेल, जिल्ला उपाध्यक्षहरु माधव पोखरेल , छवि गौतम, महासचिव पुस्कर अधिकारी , सचिव शिव ढकाल लगायत जिल्ला का निर्माण ब्यवसायीहरुको उपस्थिति रहेको थियो । हिजो जिल्ला प्रशासन कार्यालयमा धर्ना दिईएको थियो ।


