चितवन ।
चितवनको तीन वटै मतगणना स्थलमा तारजाली सहित सिसि क्यामरा जडान कार्य सुरु गरिएको छ ।
मतगणनालाई पारदर्शी, विश्वासिलो र व्यवस्थित बनाउनको लागि जिल्लाको तीन वटै मतगणना स्थलमा तारजाली लगाइएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सुरक्षाको दृष्टिले पनि जारजाली र सिसि क्यामरा जडान गरिएको जानकारी दिनुभयो ।
निर्वाचन क्षेत्र नं. २ को मतगणनास्थल चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा गरिने भएको छ । यहाँ तारजाली लगाउने काम भएको छ । यस्तै गरी निर्वाचन क्षेत्र नंं १ को मतगणना खैरहनी मावि र निर्वाचन क्षेत्र ३ को मतगणना रामपुर क्याम्पसको भवनमा जारजाली र सिसि क्यामरा जडान भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो ।
मतदान स्थल निर्माणमा
मतदान स्थलमा खटिएका कर्मचारीले मङ्गलबार मतदान स्थल निर्माण गर्नु भएको छ । मतदान स्थलमा वाँस गाड्ने, डोरी लगाउने, अन्य व्यवस्थापनका कार्य गर्ने कार्य भएको छ । यस्तै गरी जिल्लाका सवै स्थानमा मतदान स्थलको व्यवस्थापन, सर्वदलीय वैठक राखेर तयारी गर्ने काम भएको जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले बताउनुभयो ।
सोमबार मतदान सामग्री लिएर कार्य क्षेत्रमा खटिएका कर्मचारीले मङ्गलबार जिल्लाका सवै मतदान स्थलमा व्यवस्थापनको काम भइराखेको छ । सवै कर्मचारी त्यही वसेर सुरक्षा दिने, छलफल गरी निर्वाचनलाई सम्पन्न गर्न लागेको कार्कीले बताउनुभयो । निर्वाचन क्षेत्र नम्बर ३ भूवनबस्ती मतदान स्थलका निर्वाचन अधिकृत निरज भट्टले शान्तिपूर्वक काम भैराखेको जानकारी दिनु भयो । सोमबारदेखि मतदान स्थलमा खटिएर काम गरेका छौ उहाले भन्नुभयो “आजै सबै काम पूरा गर्ने तयारी भएको छ ।”
चारलाख वढी मतदाता
चितवन जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । यसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ महिला एवं दुई जना तेस्रो लिङ्गी रहेका छन् । मतदाताले १६२ वटा स्थल र ४९४ वटा केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख तथा निर्वाचन अधिकारी भीमसेन कार्कीले प्रतिनिधिसभा निर्वाचन २०७९ को निर्वाचनको तुलनामा यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ७४० नयाँ मतदाता थपिएको बताउनुभयो । यसै गरी ३४ वटा मतदान केन्द्र थप भएको छ ।
क्षेत्र नं १ मा एक लाख ४९ हजार ६२१ मतदाता छन् । यसमा ७६ हजार ७६१ पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ मतदानस्थल र १६८ मतदान केन्द्र रहेका छन् । यस्तै क्षेत्र नं २ मा एक लाख ३७ हजार १५२ मतदाता रहेका छन् । तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । यहाँ ४८ स्थल र १५२ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्नेछन् ।
क्षेत्र नं ३ मा एक लाख ५५ हजार ३०९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तीमध्ये ७५ हजार ६९६ पुरुष र ७९ हजार ६१२ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । उनीहरूले ६३ स्थल र १७४ केन्द्रबाट मतदान गर्नेछन् । चितवनको सात पालिकामा २५ वटा मतदानस्थललाई ‘अति संवेदनशील’ स्थलको रुपमा वर्गीकरण गरिएको छ । ‘अति संवेदनशील’स्थलमा चितवनको तीन वटा क्षेत्रका मतदान स्थल छन् ।
चितवन प्रहरीका अनुसार अति संवेदनशील स्थलमा बढी जनशक्ति आवश्यक पर्ने भएकाले ती मतदानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सुरक्षा प्रबन्ध मिलाइएको छ । चितवनमा एउटा मतदानस्थलमा बढीमा ९ वटासम्म मतदान केन्द्र रहेका छन् । सबैभन्दा बढी मतदान केन्द्र भएको भरतपुर–२ को बालकुमारी मावि हो । यहाँ ९ वटासम्म मतदान केन्द्र रहेका छन् । यहाँबाट मत खसाल्ने सबैभन्दा बढी आठ हजार ६५७ मतदाता छन् । सबैभन्दा कम मतदाता भएको मतदान केन्द्र इच्छाकामना हो । यहाँ जम्मा मतदाता ३६५ मात्र छ ।


