चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन रोक्ने प्रयास नगर्न चेतावनी दिएका छन् । बिहीबार आफ्नो निर्वाचन क्षेत्र चितवनको भरतपुर–११ शान्ति टोलमा गृहप्रवेश गर्नेक्रममा बोल्दै सभापति लामिछानेले अहिले पनि निर्वाचन भाड्न सकिन्छ कि भन्दै जुंगा मसार्ने काम भइरहेको भन्दै त्यसो नगर्न चेतावनी दिए ।
‘निर्वाचन छल्ने काम नगर्नुस्, निर्वाचन हुन्छ, निर्वाचनको विकल्प छैन, नेपाली जनताले चे चाहन्छ त्यही गर्छ, त्यसलाई स्वीकार गर्नुपर्छ’ लामिछानेले भने–‘अहिले नै भाड्न सकिन्छ कि, भाझो हाल्न सकिन्छ कि भनेर जुंगो चलिराछ, हामी इशारा बुझि रहेका छौं, अब जुंगा नचलाउनुहोस्, जनतालाई निर्णय गर्न दिउँ, जे भन्छन् त्यही मानौं ।’
सभापति लामिछानेले आफूलाई हराउने अनेक षड्यन्त्र हुने भन्दै अब छलछाम, झेली गरेर हराउन नपाइने बताए । उनले भने–‘जो–जो मिल्नुछ मिल्नुस्, हामीलाई लोकतान्त्रिक विधिबाट हराउनुस् तर लोकतन्त्रबाट बाहिर गएर झेली गरेर हराउन पाइदैन, छलछाम गर्न पाइदैन ।’ लमिछानेले जनताले अपदस्त गरेको नेताहरुलाई गाली गर्ने पक्षमा आफू नरहेको भन्दै देशलाई समृद्ध बनाउने परिकल्पना लिएर रास्वपा अघि बढेको बताए । उनले चितवनले निलो क्रान्तिको बिउ रोपेको भन्दै अब देशभर फैलिदै गर्दा चितवनका सबै क्षेत्रमा जिताउन आग्रह गरे । उनले परिवर्तनको सुरुवात चितवनबाट भएकाले यसको अन्त्य पनि चितवनबाटै हुने दावी गरे ।
दिउँसो हवाई यात्रा मार्फत चितवन आइपुगेका लामिछाने भरतपुर विमानस्थलबाट सिधै भरतपुर–४ लंकूस्थित हरिकिर्तन लक्ष्मी मन्दिर पुगेका थिए । लामिछानेले त्यहाँ स्वस्ति शान्ति पूजा गरे । स्वस्ति पूजामा लामिछानेका साथमा चितवन क्षेत्र नं।१ र ३ का उम्मेदवार हरि ढकाल र सोविता गौतम पुगेका थिए । लामिछानेलाई धर्मचोक लंकूदेखि नै कार्यकर्ताहरु सडकमा लामबद्ध भएर पुष्पगुच्छाले स्वागत गरेका थिए । उनीहरुले रास्वपाको पक्षमा नारा लगाएका थिए । स्वस्ति पूजापछि लामिछाने भरतपुर–११, स्थित विशाल चोकमा भाडामा लिईएको निवासमा गृह प्रवेश गरेका हुन् । लामिछानेलाई स्वागत गर्न विमानस्थलमै कार्यकर्ताहरु पुगेका थिए । सभापति लामिछाने केही दिन चितवनमै बसेर चुनावी अभियान संचालन गर्ने जिल्ला सभापति कृष्णप्रसाद भुषालले जानकारी दिए ।
लामिछाने प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नं।२ बाट उम्मेदवार बनेका छन् । अदालती मुद्दा प्रकृयाका कारण पर्सामै रोकिएपछि लामिछानेले माघ ६ गते वारेस मार्फत उम्मेद्वारी दर्ता गराएका थिए । त्यसपछि उनी आज पहिलो पटक चितवन आएका हुन् ।


