चितवनमा पैसठ्ठी जनाको उमेदवारी, तीन निर्वाचन क्षेत्रमा चासो

चितवन ।
तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा राजनीतिक दल र स्वतन्त्रसहित ६५ जनाले उमेदवारी दर्ता गरेका छन् ।
चितवन क्षेत्र नं १ मा १९ जनाको उमेदवारी परेको छ । नेपाली कांग्रेसबाट राजेन्द्रप्रसाद बुर्लाकोटी, नेकपा एमालेबाट दावादोर्जे लामा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकाल, नेपाली कम्युनिस्ट पार्टीबाट डा. कृष्ण पन्त र राप्रपाबाट बलराम खनालले उमेदवार मनोनयन दर्ता गराएका छन् । बाँकी साना दलका उमेदवारहरु रहेको छ ।
निर्वाचन क्षेत्र नं २ मा २३ जनाले उमेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने, नेपाली कांग्रेसबाट मीनाकुमारी खरेल, नेकपा एमालेबाट अस्मिन घिमिरे, नेपाली कम्युनिस्ट पार्टीबाट प्रताप गुरूङ र राप्रपाबाट जगदीश्वर अधिकारीसहित २३ जनाले उमेदवारी दर्ता गराएका छन् ।
चितवनको चर्चित क्षेत्र नं ३ मा २३ जनाले उमेदवारी दर्ता गराएका छन् । नेपाली कम्यूनिस्ट पार्टीबाट रेनु दाहाल, नेपाली कांग्रेसबाट टेकप्रसाद गुरूङ, नेकपा एमालेबाट शंकरराज थपलिया, राप्रपाबाट दीपक थापामगर र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतमले उमेदवार मनोनयन दर्ता गराउनु भएको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । जसमा दुई लाख १७ हजार ३१४ जना पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवम् दुई जना तेस्रो लिङ्गी रहेका छन् ।
जिल्लाका १६२ वटास्थल र ४९४ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् । निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले प्रतिनिधिसभा निर्वाचन २०७९ को निर्वाचनको तुलनामा यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् भने ३४ वटा मतदान केन्द्र थप भएको जानकारी दिनुभयो ।
क्षेत्र नम्बर १ मा एक लाख ४९ हजार ६२१ जना मतदाता रहेका छन् । जसमा ७६ हजार ७६१ जना पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ वटा मतदानस्थल र १६८ वटा मतदान केन्द्र रहेका छन् ।
यस्तै, क्षेत्र नम्बर २ मा एक लाख ३७ हजार १५२ जना मतदाता रहेका छन् । तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । यहाँ ४८ वटास्थल र १५२ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् ।
क्षेत्र नम्बर ३ मा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । तीमध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । उनीहरूले ६३ वटास्थल र १७४ वटा केन्द्रबाट मतदान गर्ने छन् । प्रतिनिधिसभा २०७९ मा जिल्लामा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए ।
निर्वाचन क्षेत्र ३ चासो
यस पटक जिल्लाको निर्वाचन क्षेत्र नंं ३ चासोको विषय वनेको छ । भरतपुर महानगरपालिका प्रमुख पदबाट राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा होमिनु भएको छ ।
यसै क्षेत्रमा रास्वपाकी नेतृ सोविता गौतम यही क्षेत्रमा उमेद्वार रहनु भएको छ । नेपाली काँग्रेसका पुराना नेता टेकप्रसाद गुरुङपनि उमेदवार हुनु भएपछि चासोको रुपमा लिएको छ । महानगरपालिका प्रमुख हँुदा विकास निर्माण राम्रो गरेको कारण दाहाल जनतामा लोकप्रिय भएको मानिन्छ । तर काँग्रेसको आधार क्षेत्र भएको यहाँ पुराना नेता गुरुङ उमेदवार भएपछि दाहाललाई चुनौती थपिएको छ । यस अगाडि चुनावी प्रचार नगरी रास्वपाको नेताले १० हजार मत ल्याएको कारण यस पटक जीत हासिल गर्ने दाउमा सोविता गौतम रहनु भएको छ । नेकपा एमालेको भने यस निर्वाचन क्षेत्रमा संगठनात्मक अवस्था काँग्रेसको तुलनामा कमजोर रहेको छ ।

शेयर गरौ

ताजा अपडेट