महोत्सवले आर्थिक क्षेत्र चलायमान

चितवन ।
जिल्लामा हुने मेला महोत्सवले स्थानीय बजारको विभिन्न क्षेत्रमा आर्थिक चहलपहलमा सुधार गरेको पाइएको छ ।
दुइ महिना यता चितवन र आसपासमा एक दर्जनभन्दा धेरै मेला, महोत्सव तथा उत्सवका गतिविधि भएका छन् । अहिलेपनि चारवटा मेला लागिरहेको छ । यस्ता गतिविधिले स्तर अनुसारका आर्थिक क्रियाकापमा राम्रो प्रभाव पारेको उद्योगी व्यवसायीको भनाइ छ । होटेल व्यवसायी महासङघका अध्यक्ष दिनेशकुमार चुकेले भन्नुभयो “मेला महोत्सवले त्यस भित्रको मात्र नभएर होटल व्यवसायमा समेत सकरात्मक प्रभाव पारेको पाएका छौ । सुस्ताएको बजारमा मेला हेर्नकै लागि टाढाबाट आएकाहरु छन् । त्यस्ता वर्गहरु एक रात होटलमा बसेर उत्सव हेर्ने पाएका छौ ।”
उहाँका अनुसार नारायणी नदी किनारमा आयोजना हुने यस्ता उत्सवले किनारमा रहेका व्यवसायी सवैभन्दा धेरै लाभान्वित भएको पाएका छौ । ती बाहेक अन्य क्षेत्रका होटल लजमा समेत ५ प्रतिशत व्यापार वृद्धि भएको पाएका छौ उहाले भन्नुभयो ।
चितवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले केही गतिविधि नभएको समयमा भन्दा यस्ता उत्सव हुदा बजार क्षेत्र मात्र नभएर अन्य क्षेत्रमा समेत आर्थिक चलायमान भएको बताउनुभयो । “उत्सवमा सहभागी हुनकै लागि भएर आउनेले बजारमा समेत सामग्री खरिद गरेका छन्” उहाले भन्नुभयो “पुरानै शैलीका सामग्री मात्र नभएर मनोरञ्जनात्मक र अन्य आर्थिक गविधिलाई समेत ध्यान दिएर उत्सव आयोजना गर्नु पर्दछ । अनि थप आर्थिक चलायमान गर्न सकिन्छ । ”
क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव महेश खनालले पूर्वी चितवनमा आयोजना भएका दुइवटा महोत्सवको प्रभाव सौराहाका होटलमा परेको जानकारी दिनुभयो । हात्ती महोत्सवले होटलका कोठा भरिएका थिए । त्यसपछि नयाँ वर्षले प्रभाव पारेको थियो । अहिले यसै क्षेत्रमा आयोजना भएका दुइवटा रत्ननगर र खिचरा महोत्सवले थोरै भएपनि बुक वृद्धि गरेको छ । फुर्सदमा भएकाहरुलाई यस्ता उत्सवले अवसर प्रदान गर्ने र सौराहाका होटलमा वस्न आउने पाएको बताउनुभयो ।
सेभेन होटल प्रालिका सञ्चालक माधव दुवाडीले महोत्सवमा टिकट लिएर आउनेलाई छुटको व्यवस्था गरेपछि बुक वृद्धि भएको बताउनुभयो । सार्वजनिक विदा तथा विद्यालयको विदाको समयमा महोत्सव हेर्न आउने र एक रात भएपनि सौराहा वसेर फर्किनेहरु छन् । काठमाडौँ, पोखरा तथा पूर्वी पश्चिम नेपालबाट भ्रमणका लागि आउनेहरु महोत्सव हेरेर होटल बस्न आउनेको सङ्ख्या वृद्धि भएको बताउनुभयो ।
क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी सुमन घिमिरेले एउटै प्रकृतिका मेला महोत्सवमा सुधार आवश्यक भएको बताउनुहुन्छ । जिल्ला भरी आयोजना हुने यस्ता महोत्सवमा एउटै प्रकृतिका बजार छन् यसले आकर्षण वृद्धि गर्दैन अव फरक शैलीको मेला आयोजना गर्नु पर्ने सुझाव दिनुहुन्छ । उहाले भन्नुभयो “केही नहुदा भन्दा यस्ता उत्सवले आर्थिक क्षेत्र थोरै भएपनि चलायमान हुन्छ । तर यतीले अव पुग्दैन मेला आयोजना गर्दा फरक शैली र सन्देश दिने हुनु पर्दछ ।” रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शंकर गिरीले मेला उत्सवले स्थानीयको उत्पादनको बजारीकरण गर्ने भएकाले यसको प्रभाव धेरै राम्रो हुने बताउनुहुन्छ ।
नेपाल यातायाता महासङघका पूर्व उपाध्यक्ष रामप्रसाद सुवेदीले भन्नुभयो “पछिल्लो समय आर्थिक गतिविधि कम छ । उत्सवमा सहभागी हुने वर्ग विदेश गएका छन् । यस्ता गतिविधि भएन भने थप निराशा पैदा हुन्छ । त्यसैले गतिविधि आयोजना हुदा आर्थिक क्षेत्र चलायमान हुने पाएको छु ।” स्थानीय सवारी साधनमा यात्रुको चाप वृद्धि भएको छ । जसले गर्दा सकरात्मक प्रभाव परेको पाएको छु उहाले भन्नुभयो ।

शेयर गरौ

ताजा अपडेट