चितवन । चितवनको मुग्लिन नारायाणगढ सडक खण्डको सिमलतालबाट त्रिशुली नदीमा खसेर हराएको दुई बस मध्य एउटा फेला परेको छ ।
नदीमा खसेको अठार महिनापछि आज दुई वटा मध्य एउटा बस नदी किनारमा गाडिएको अबस्थामा फेला परेको हो । फेला परेको एउटा बसको अगाडीको ड्राइभर तर्फको चक्काको डिस्ट र केही टिनको भाग फेला परेको छ । माछा मार्ने क्रममा स्थानीय रोशन भुजेलले देखेपछि प्रहरीलाइ खबर गर्नु भएको थियो ।

दुर्घटना भएको स्थलबाट करिब ३ सय मिटर तल बसको केही भाग नदी किनारको बालुवामा गाडिएको अबस्थामा फेला परेको हो । बसको अवशेष खोतल्ने काम प्रहरीले गरेको छ । घटनाको थप विवरण आउन बाकी छ ।
चितवन प्रहरीका प्रवक्ता रविन्द्र खनालले गडिएको अबस्थामा फेला परेको बस गत वर्ष पहिले बगाएको हो होइन भन्ने विषयमा अनुसन्धान भैराखेको जानकारी दिएको छ ।

२०८१ असार २८ गते भरतपुर महानगरपालिका–२९, सिमलतालमा बिहान ३ बजे पहिरोले बगाउँदा त्रिशूलीमा खसेर २ वटा यात्रुबाहक बस खसेर बेपत्ता भएको थियो । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदो सहितको पहिरोले बगाएर त्रिशूली नदीमा सोहोरेको थियो ।
६५ जना रहेको दुई वटा बसमा तीन जना घाइते अबस्थामा फेला परेका थिए । ११ जनाको मृत्यु भएको शब फेला परेको थियो ५१ जना बेपत्ता भएका थिए । बस खोज्न भारतबाट समेत गोताखोर आएका थिए ।


