चितवन ।
भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको छ । जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्न महानगरले दलित तथा गैर दलित बीच अन्तरजातीय विवाह गर्ने जोडी एक–एक लाख रुपिंयाँले सम्मानित गरेको हो ।
महानगरले यस्तो सम्मान गरेको यो चौथो पटक हो । महानगरले २०७७÷०७८ देखि अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै आएको छ । यस पटक सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१६ का करण योगी र दिया रामदाम, भरतपुर–२० का अनुप सुनार र सुस्मिता श्रीष, अनिल हरिजन र लक्ष्मी लामिछाने रहेका छन् ।
त्यस्तै भरतपुर भरतपुर–११ का मनोज विश्वकर्मा र जसिका श्रेष्ठ, अशोक परियार र सुमिता रानामगर, भरतपुर–६ का सुमन परियार र सिमा लामाको जोडी पनि उक्त अवसरमा सम्मानीत भएको हो । त्यस्तै भरतपुर–६का रुपेश भुजेल र अस्मिता विक, भरतपुर–२७ का अशोक परियार र आरती महतो, भरतपुर–२४ का किसान परियार र इन्दिरा तामाङ, भरतपुर–१६ का सरोज सुनार र सोममाया घले उक्त अवसरमा एक लाख रुपिंयाँ नगद सहित सम्मानीत भएका छन् ।
कार्यक्रममा भरतपुर–१० का विष्णु पौडेल र रोशनी परियार, भरतपुर–२३ का दिपेश सदाशंकर र अन्सु श्रेष्ठ, भरतपुर–१९ का किरण विक र सुनन्दा श्रेष्ठ, भरतपुर–२८ का अविशेक दर्जी र राधा शर्मा र भरतपुर–१२ का मनिष थापा र कुसुम विश्वकर्माको जोडी सम्मानीत भएको हो ।
महानगरले २०७७÷०७८ बाट शुरु गरेको यो अभियानमा पहिलो वर्ष तीन जोडी, दोस्रो वर्ष सात जोडी र तेस्रो वर्ष १० जोडीलाई सम्मान गरेको थियो । सम्मान कार्यक्रममा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले विगतका वर्षमा भन्दा पछिल्ला वर्षहरुमा सम्मानको लागि आउने जोडी संख्या बढेको बताउनुभयो । शुरुआतका दिनमा संकोच थियो । सम्मानका लागि आउनेहरु कम हुनुहुन्थ्यो । पहिलो वर्ष हामीले केवल तीन जोडीलाई मात्र सम्मान गर्यौ । यस पटक यो संख्या १५ जोडी पुग्यो । अन्तरजातीय विवाह गर्नेलाई भेदभावको दृष्टिकोणले हेर्ने परिपार्टीको कारण सम्मानीत हुनेको सङ्ख्या कम भएको र हरेक वर्ष सम्मानित हुने अन्तरजातीय जोडीको सङ्ख्या बढ्दै गएकोमा उहाँले खुसी व्यक्त गर्नु भयो । उहाँले जातीय विभेदलाई न्युनीकरण गर्न यो अभियानले सार्थकता पाएको बताउनुभयोे ।
कार्यक्रममा नगर उपप्रमुख चित्रसेन अधिकारीले चुनौती र संघर्षको बाबजुद सामाजिक रुपान्तरणको लागि अन्तरजातीय विवाहले ठुलो भूमिका खेलेको बताउनुभयो । अहिले पनि अन्तरजातीय विवाह गर्नुहुन्न भन्ने सोच पूर्ण रुपमा नहटेको बताउँदै उहाँले यसलाई क्रमशः चिर्दै जानुपर्ने बताउनुभयो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले २०२१ सालमा पहिलो पटक दलित समुदायलाई भेदभाव गर्ने विषय दण्डनीय भनेर कानुन निर्माण भएपनि ६ दशकसम्म पनि पुर्ण रुपमा नहटेको बताउनुभयो । अन्तरजातीय विवाहलाइ सामाजिक क्रान्तिको संज्ञा दिंदै प्रमुख प्रशासकीय अधिकृत पौडेलले यस्तो क्रान्तिमा भाग लिने जोडीलाई अप्ठ्यारो परिस्थितिमा पनि एकढिक्का भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।


