सुन तस्करीमा बाबु–छोरा नै : चीनबाट ल्याएर भारत ‘सप्लाई’

काठमाडौं । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार राति काठमाडौं न्युरोडबाट करिब डेढ करोड रुपैयाँ र डेढ किलो सुनसहित सात जनालाई समात्यो । उनीहरुलाई पक्राउ गर्नका लागि प्रहरीले चार महिनादेखि पिछा गरिरहेको थियो ।

उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरक्षा केसी नेतृत्वको टोलीले एक करोड ४३ लाख ६० हजार नगद र एक हजार ७६८.२५ ग्राम सुन बरामद गरेको हो । प्रहरीलाई तीन हप्ता अघि नै सुन तस्करी भइरहेको सूचना मिलेको थियो । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले त्यसका विरुद्ध अपरेशन नै चलाएको थियो ।
तस्करीको सुन र नगदसहित पक्राउ पर्नेहरूमा दार्चुलाको महाकाली नगरपालिकाका ४७ वर्षीय गणेशदत्त बडू, आयुष बडू, झापाको विर्तामोड नगरपालिका–३ का दिनेश खरेल र भरतराज खरेल छन् । त्यस्तै भारतीय नागरिक ३७ वर्षीय अमल विभूति, सोहीका प्रकाश विभूति र गणेश सतिस बाल्टेलाई समेत प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।

एसएसपी राठौरका अनुसार तस्करीको सुनसहित पक्राउ परेकाहरूमध्ये मुख्य आरोपी दार्चुलाका बडू हुन् । न्युरोडको रञ्जना मलमा मालिकार्जुन सुन पसल समेत चलाएका बडूले लामो समयदेखि सुन तस्करी गर्दै आएको अनुसन्धानमा खुलेको छ ।प्रहरीले बरामद गरेको सुन चिनियाँ तस्करी समूहले बडूलाई दिएको पाइएको छ । प्रहरी अनुसन्धानबाट उक्त सुन १० दिनअघि मात्रै काठमाडौं भित्रिएको पाइएको छ । बडूको साथबाट बरामद नगद समेत तस्करीको सुन बिक्री वापत आएको प्रहरीको दाबी छ ।

प्रहरीले पक्राउ गरेका गणेशदत्त र आयुष बाबु–छोरा हुन् । पुर्खौली घर दार्चुला भए पनि हाल बडू परिवार काठमाडौंको कलंकीमा बस्दै आएका छन् । उनीहरूसँगै पक्राउ परेका झापाका दिनेश र भरतराज पनि सहोदर दाजुभाइ हुन् । उनीहरू गणेश दत्तकै साँढुदाइका छोराहरू हुन् ।

शेयर गरौ

ताजा अपडेट