अब राजनीति होइन महानगरको विकास हेर्छु : दाहाल

केशव पौडेल । चितवन, २३ जेठ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राजनीति भन्दा माथि उठेर महानगरको विकासमा आफ्नो ध्यान केन्द्रीत हुने बताउनु भएको छ ।
पाँच दलीय गठबन्धन पक्षधर चितवनका पेशाकर्मीले सोमबार आयोजना गरेको वधाइ कार्यक्रममा उहाले राजनीतिलाई भन्दा विकासलाई प्राथमिकतामा राख्न सवैलाई अनुरोध गर्नुभयो । “यहाँ कसैले राजनीति नगरौं, विकास, समृद्धि र सुशासनका लागि भरतपुरलाई कसरी उदाहरणीय बनाउन सकिन्छ त्यस विषयमा सोचौं ” उहाले भन्नुभयो “आगामी पाँच वर्षे कार्यकाल पुरा नहुँदासम्म हातेमालो गर्न सवैलाई म आनुरोध गर्दछु ।”
शुरु भएको दोस्रो कार्यकाल अझै सफल बताउन बुद्धिजीविको भूमिका महत्वपूर्ण हुने बताउँदै उहाले ‘अव कार्यकाल शुरु भएको छ यसलाई पुरा गर्ने वेलासम्म तपाईहरुको सुझाव र सहयोग मेरो निम्ति मार्ग दर्शन हुनेछ ।’
महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासीको सुझाव अक्षरस पालना गर्ने प्रतिवद्धता जनाउनु भयो । सहभागीहरुले महानगरले शुरु गरेका अधुरा अपूरा कामलाई छिटो भन्दा छिटो सम्पन्न गर्ने र शिक्षा, स्वास्थ्य र रोजगारीको लागि महानगरलाई नमूना बनाउनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा –एकीकृत समाजवादी) का जिल्ला नेतृत्वको उपस्थिति रहेको थियो । नेपाली काँग्रेसका सभापति राजेश्वर खनालले बुद्धिजीवि पेशाकर्मीहरुको धारणालाई आत्मसात गरि सोही अनुसार काम गरिदिन मेयर उपमेयरलाई अनुरोध गरेका थिए । त्यसै गरि नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले विगतमा शुरु गरेका काम सम्पन्न गर्ने र अझै विशिष्टिकृत सेवा क्षेत्रको विकास गर्न आवस्यक रहेको बताएका थिए । कार्यक्रममा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपानेले बधाई एवं शुभकामना दिनुभयो ।
कार्यक्रममा कृषि तथा वन विश्वविद्यालयका निवर्तमान उपकूलपति प्राडा ईश्वरी प्रसाद ढकाल, सोही विश्वविद्यालयका पूर्व रजिष्टार प्रा.डा सूर्यकान्त घिमिरे, त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्टार प्राडा भीमराज अधिकारीले जनताको गुनासालाई सम्बोधन गर्दै काम गर्न अनुरोध गर्नु भएको थियो ।

 

शेयर गरौ

ताजा अपडेट