चितवन समाचार डटकम, २८ मङ्सिर । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै चितवन बन्द गराउँदै हिडेका १२ जनालाई मंङ्गलबार विहान प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन प्रहरीले नारायणगढबाट १० जना र पूर्वी चितवनको भण्डारबाट २ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई प्रहरीले कार्यालयमा राखेको छ । नारायणगढको पुलचोकबाट पक्राउन पर्नेमा राजनीतिक दलका नेतहरु रहेका छन् । राष्ट्रिय जनमोर्चा चितवनका जिल्ला अध्यक्ष डम्बर पुरी, विप्लब नेतृत्वको नेकपा माओवादीका चितवन इन्चार्ज सन्देश पौडेल, बैद्य माओवादी चितवनका इन्चार्ज धननाथ सापकोटा, बद्री अधिकारी, प्रकाश ढकाल, युवा नेता कृष्ण सुनारलगायतका रहेका छन् ।
बन्दकर्ताहरुले नारायणगढमा एमसीसीविरुद्ध नाराबाजी समेत गरेका थिए । पक्राउ परेकाहरुलाई तत्काल रिहाईको माग गर्दै प्रहरी प्रशासनविरुद्ध कार्यकर्ताले नाराबाजी गरेका थिए ।
एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति बनाएर जिल्लामा सक्रिय १३ दलहरुले मंङगलबार चितवन बन्दको घोषणा गरेका थिए । बन्दका कारण जिल्लाको शैक्षिक संस्था, कलकारखना, बजार र यातायात प्रभावित बनेको छ । सडकमा फाट्टफुट् गाडी चलेपनि अवस्था सामान्य अवस्थामा सवारी सधान चल्ने सकेको छैन ।
बन्द आह्वान गर्ने दलहरुमा माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजबादी), विप्लब नेतृत्वको नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले, मोहन बैद्य र ऋषि कट्टेलको नेकपा, त्रिमुल, जनरोकार मञ्ज लगायतका १३ वटा दल रहेका छन् ।
ट्रकमा तोडफोड
बन्दकर्ताहरुले नारायणगढको पुलचोक नजिक एउटा ट्रकमा तोडफोड गरेका छन् उनीहरुले वागमती प्रदेश ०३–००१ ख १३१२ नम्बरको ट्रकमा तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ । ढुंगा प्रहारबाट ट्रकको सिसा फुटेको छ । ट्रकमा ढुंगा प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । नारायणगढ बजार क्षेत्रमा तोडफोडलगायतका गतिविधि हुन नदिन अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।


