सौराहा, १३ मङ्सिर । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन एक दिन लम्बिदा करिब एक करोड रुपियाँको भार थपिएको छ ।
१३ गते बिहान सकिने गरी बनाएको कार्यतालिका सोही दिन नसकिएपछि १४ गतेसम्म हुने भएको छ । एकदिन थपिदा प्रतिनिधिलाई खाना आवासदेखि निर्वाचनको खर्च समेत जोड्ना एक करोड रुपियाँ थपिने एमालेले जानकारी दिएको छ ।
आवास व्यवस्थापन समितिका संयोजक कृष्णभक्त पोखरेलले तोकिएको समयमा महाधिवेशन सम्पन्न नभएपछि थप व्यवस्था मिलाइएको जानकारी दिनु भयो । सर्वसम्वत गर्ने प्रयास गरेपनि सफल नभएपछि समय लम्बिएको छ यसबाट आवासमा मात्रै थप ७० लाख रुपियाँ खर्च वृद्धि भएको छ ।
महाधिवेशनमा २२ सय ७५ प्रतिनिधि, अतिथि र स्वयमसेवक गरि ३५ सय जनाको लागि होटलका बेड बुकिङ गरिएको थियो । त्यसमा प्रतिनिधि बसेको होटलले तीन छाक खानाको व्यवस्था गर्ने सम्झौता भएको थियो । खाना र बेडको लागि एमालेले होटल व्यवसायीसँग एक करोड ९० लाख रुपैयाँमा सम्झौता गरेको थियो । ११ र १२ मंसिरमा सकिने भनिएको महाधिवेशनको बन्द सत्र भने लम्बिएको छ । अध्यक्षलगायत केहि पदमा चुनाव हुने निश्चित भएको छ । निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गरिसकेपनि मतदान सुरु हुन सकेको छैन ।
बन्द सत्र लम्बिएपछि एमालेले थप एक दिन खाना खुवाउन व्यवसायीहरुलाई आग्रह गरेको छ । सोमबार दिउँसो र बेलुकाको खाना, मंगलबार बिहानको ब्रेकफास्ट र बेडको व्यवस्था गर्नेगरि अर्काे सम्झौता भएको क्षेत्रीय होटल व्यवसायी संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले जानकारी दिनु भयो । थप एक दिन खाना र बेडको लागि करिब ७० लाख रुपैयाँमा सम्झौता भएको उहाले बताउनु भयो बताए । ‘थप एक दिन खाना र बेडको व्यवस्था गर्नेगरि पार्टीसँग हाम्रो सम्झौता भएको छ’, उहाले भन्नु भयो । मंगलबार विहानको खाजा खाएर जाने गरी सम्झौता भएको जानकारी दिनु भयो ।
बन्दसत्र लम्बिएपछि टाढा घर भएका प्रतिनिधिहरु भने फर्किसकेका छन् । महाधिवेशन लम्बिदा व्यवस्थापन लगायतका विषयमा एक करोड रुपैया भन्दा माथि खर्च बढ्ने अनुमान गरिएको छ ।


