मञ्च निर्माणमा मात्रै ५० लाख रुपियाँ खर्च : आवासमा एक करोड ६० लाख

चितवन, ७ मंसिर । चितवनमा सम्पन्न हुन गइरहेको नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाई अहिलेसम्मकै भव्य र आकर्शक बनाउने भएको छ ।
महाधिवेशनको उद्घाटनदेखि बन्द सत्र र आवासमा समेत विषेध ध्यान दिएर सम्पन्न गर्ने तयारी रहेको छ । एमालेले चितवनको नारायणगढ र सौरामा गरेर दुइ स्थानमा महाधिवेशनको कार्यक्रम गर्दै छ । मंसिर १०, ११ र १२ गते हुने महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारलाई रोजेको छ भने बन्दसत्र निर्वाचनको कार्यक्रम सौराहामा हुदैछ ।
उद्घाटन सत्रलाई विशेष ध्यान दिएर अझ आकर्षक बनाउने भएको छ । उद्घाटन मञ्चको निर्माण र सजावटमा मात्रै ५० लाख रुपियाँ खर्च लाग्ने मञ्च व्यवस्थापन तथा स्वयम्सेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले जानकारी दिनु भयो । मञ्चलाई मञ्चलाई अत्याधुनिक तरिकाले निर्माण गरिदैछ । ‘हामीले यस पटक अहिलेसम्मकै आकर्शक मञ्च बनाउने तयारी गरेका छौ । वुटवलमा भएको आठौ महाधिवेशन भन्दा धेरै आकर्शक तरिकाले मञ्च निर्माण गरिदैछ’ श्रेष्ठले भन्नु भयो ।
एक सय २० फिट लम्वाइ र ६० फिट चौडा भएको मञ्च निर्माण हुनेछ । जसमा चारवटा खण्ड रहनेछन् । मुख्य भागमा स्थायी कमिटी सदस्य, स्वदेशी तथा विदेशी पाहुनाहरु बस्नेछन् । त्यसपछि दायाँ र वायाँ भएको भागमा केन्द्रीय सदस्यहरु बस्नेछन् । मञ्चको अगाडि रहेको भागमा कालकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । कम्युनिष्ट पार्टी स्थापना भएको ७२ वर्ष भएकाले एकैपटक ७२ जना कलाकारहरुको आर्केस्ट्रा (धुन दिने उपकरण)बाट राष्ट्रिय गानको धुन बजाइने छ ।
मञ्च निर्माणमा अहिले ५० जना स्वयंसेवक खटिएका छन् । जमिनको सतह मुख्य मञ्चबाट ४० फिट टाढा सहभागीहरुलाई राखिनेछ । महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनेलाई नारायणी नदीको दुवै किनारमा राखिने भएको छ ।
महाधिवेशन स्थल र बजारका मुख्य चोकहरु पुलचोक, लायन्सचोकलगायतका चोकमा गरी २० वटा डिस्प्ले बोर्ड राखिनेछ । त्यसबाट सहभागीहरुले बजारबाट पनि लाइभ कार्यक्रम हेर्न सक्नेछ । कार्यक्रमको लाइभ प्रशारण गर्ने व्यवस्था गरिएको छ । दुइवटा ड्रोन क्यामराले खिच्नेछन् । कार्यक्रमलाई थप आकर्शक बनाउनको लागि सेल्फी स्थल र स्थायी संरचना निर्माण गरिनेछ । नदी किनारमा गैंडाको मुर्ती निर्माण गरिने तयारी रहेको छ ।

बन्द सत्रमा दुइहजार जना अट्ने पण्डाल
एकै पटक दुइहजार भन्दा धेरै जना अट्ने अस्थायी हल (पण्डाल) निर्माण गरिएको छ । बन्दसत्र सौराहाको सेवेन स्टार होटल नजिक पण्डाल निर्माण गरिएको हो ।
पार्टी अध्यक्ष, पदाधिकारी र विशिष्ट व्यक्ति बस्नको लागि मञ्च र प्रतिनिधिहरुको लागि ठुलो हल निर्माण गरिएको छ । त्यही हलमा अधिवेशन र निर्वाचनका कार्यक्रमहरु सञ्चालन हुने मञ्च व्यवस्थापन तथा स्वयम्सेवक परिचालन समितिका संयोजक विनोद श्रेष्ठले जानकारी दिनु भयो । ‘हामीले उद्घाटन सत्रको र वन्द सत्रको कार्यक्रमलाई व्यवस्थित पारेका छौ’ श्रेष्ठले भन्नु भयो ‘ प्रतिनिधिहरुको लागि कुनै असुविधान हुने वातावरण गर्ने छैनौ ।’
अधिवेशनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्नको लागि विभिन्न १२ वटा समिति मार्फत काम भइराखेको छ । अधिवेशनका लागि सौराहाका होटलमा तीन हजार ५ सय वेड बुक गरिएको छ ।

सबै होटल बुक, आवासमा एक करोड ६० लाख खर्च
अधिवेशनमा पाँच छाक खाना र बस्नका लागि भनेर एमालेले सौराहामा एक करोड ६० लाख खर्चिएको छ । जसमा व्यवसायीहरूले ८० लाख रुपैयाँ अग्रिम लिइसकेका छन् । आवास समितिका संयोजक तथा सांसद कृष्णभक्त पोखरेलले होटल व्यवसायीसंग सम्झौता गरिसकेको र ५० प्रतिशत रकम दिएको जानकारी दिनु भयो । ती वेडहरु प्रतिनिधिका लागि छुट्टाउने काम भएको छ ।
एमालेको महाधिवेशन सौराहामा हुने भएपछि मंसिर ९ गतेदेखिनै यहाँका होटल १२ गतेसम्मका लागि सबै वुक भएका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले भन्नु भयो ‘एमालेले बुक गरेको भन्दा बाहेक अन्य कोठाहरुपनि सवै बुक भएका छन् । व्यक्तिगत रुपमा कोठा बुक गरेर महाधिवेशन हेर्न र सहभागी हुन आउनेहरु धेरै रहेका छन् ’उहाले भन्नु भयो । कोठा चाहियो भनेर फोन आएको छ तर हामीले कोठा दिन सकेका छैनौ अध्यक्ष भट्टराइले भन्नु भयो ।
आवास व्यवस्थापन समितिका संयोजक पोखरेलले कोठाको व्यवस्थापनमा कठिन भएको बताउनु भयो । पार्टीले बुक गरेका कोठा प्रतिनिधि, केन्द्रीय सल्लाहकार समिति, स्वदेशी तथा विदेशी पाहुना, नेताका सुरक्षाकर्मी, स्वयंसेवकलाई समेत पु¥याउन कठिन छ ।
एमालेको महाधिवेशन आयोजना भएपछि सौराहामा विवाह, पार्टी कार्यक्रम आयोजनाको लागि सो समयभरी संघले बुक बन्द गरेको छ । होटल भरिएपछि टाडी, भरतपुर, नारायणगढ र र्गैडाकोटका होटल समेत भरिन थालेका छन् । सौराहाका ६ हजार ५०० बेडमध्ये एमालेले तीन हजार ५०० सम्झौता गरेको हो भने बाँकी तीन हजारमध्ये आधा पर्यटकले अग्रिम बुकिङ र आधा नेता कार्यकर्ताले पहिले नै बुकिङ गरिसकेको होटल व्यवसायी सुमन घिमिरेले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट