काठमाडौँ, ९ वैशाख । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री एवम् पार्टीको वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो दिन पनि भेटवार्ता भएको छ ।
नागपोखरीस्थित मेरियट होटलमा बिहीबारको वार्ता करिब २ घण्टा चलेको थियो । वार्तापछि होटलबाट बाहिरिएका नेता नेपालले प्रतिक्रिया दिएनन् । यद्यपि प्रधानमन्त्रीको आर्थिक सल्लाहकार मातीलाल दुगडसँग उनले छलफल गरे ।
दुगडका अनुसार पार्टीलाई फुट्न दिनुहुन्न भन्नेबारे छलफल भएको छ । त्यस्तै, एकै पटकमा समाधान निस्कन नसक्ने भन्दै हिजो भन्दा आज राम्रो आज भन्दा भोलि सकारात्मक हुने दुगडको भनाइ छ ।
संचारकर्मीसँग प्रतिक्रिया दिँदै दुगडले भने, ‘तपाईंहरू अनुमान लगाउन सक्नुहुन्छ । यो घाउ एक दुई ओटा वार्तामा टुंगिदैन । यो वार्ता हिजोभन्दा आज सकारात्मक भयो । आजभन्दा भोलि सकारात्मक हुने छ । सौहार्दपूर्ण वातावरणमा वार्ता भयो । पार्टीलाई टुट्न दिनु हुन्न यही विषयमा छलफल भएको छ ।’
वार्ता सकिएपछि माधव नेपालले मसँग चिया खाउँ भनेकोले केही क्षण चिया पिएर बसेको दुगडले जानकारी दिए । उनले भने, ‘उहाँले चियामा अलिकति चिनी कम भयो भनेर थप्नुभयो । अरु कुरा भएन । तर, उहाँको स्पष्ट धारणा के छ भने म यो पार्टीलाई टुटाउने पक्षमा छैन । यो पार्टीलाई जोडेरै जान्छु भन्नुभएको छ ।’


