अमिर रामदाम,
बुटवल, २ चैत । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनबाट संघको केन्द्रीय अध्यक्षमा पुन : विनोद पहाडी चयन भएका छन् । पहाडीको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। संघको वरिष्ठ उपाध्यक्षमा गोपाल बराईली, उपाध्यक्षमा मिलन परियार(खुल्ला), महिला उपाध्यक्षमा कमला कुमारी विक (रसाइली), प्रदेशगत उपाध्यक्षहरूमा पर्वत पोर्तेल (प्रदेश १), भोला पासवान(प्रदेश २), बुद्धि विश्वकर्मा (बागमती), दीपक परियार (गण्डकी), बिनोद परियार(लुम्बिनी), टेकेन्द्र विश्वकर्मा (कर्णाली), करण ताम्राकार (सुदुरपश्चिम), महासचिवमा लक्ष्मण दर्नाल, सचिवमा सन्तोष गन्धर्व, विरू नेपाली, रिता बुढाथोकी(महिला), सिकेन्द्र पासवान(मधेशी), कोषाध्यक्षमा भीमबहादुर घिमिरे (विश्वकर्मा) चयन भएका छन्।
यसैगरी महिला केन्द्रीय सदस्यहरूमा पूर्णिमा जनला, राधा नेपाली, अनिता कुमारी, सुनिता नेपाली, शान्ति गजमेर, मालती विश्वकर्मा चयन भएका छन्।
त्यस्तै केन्द्रीय सदस्यहरूमा खुल्ला तर्फ प्रेम सुनार, अम्मर सुनार, राधेश्याम विक, प्रविण ददेल, सरिता बराइली, सावित्री रसाईली, राजेश सुनाम, राजन गाउँले, वसन्त विश्वकर्मा, बसन्त विक(कालिकोट), मानसिंह विश्वकर्मा, पिबि दियाली, संजय सौगात, किसान संगित नेपाली, गणेश चिन्तन, फुलु सुनार चयन भएका छन्। संघको अनुशासन समितिको संयोजकमा मधु शाहि र सदस्यमा भीमबहादुर नेपाली गन्धर्व चयन भएका छन् । समिति दुई वर्षे कार्यकालका लागि चयन भएको हो ।
महाधिवेशनमा संघले टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट कलेन्द्र सेजुवाल र बृजलाल पासवान, देवब्रत परियार स्मृति पुरस्कार रुपन्देहीकी मिना ढकाल, राममाया च्यामे लोक पुरस्कार विष्णु निष्ठुरी, परशु सवरी पत्रकारिता पुरस्कार मानसिंह विश्वकर्मा र राम सोवि सामाजिक पत्रकारिता पुरस्कार प्रेम सुनारलाई प्रदान गरेको छ ।
यस्तै लोकदोहोरी गायक राजु परियार र गायिका पूर्णकला बि सी लगायतका कलाकारलाई पनि संघले सम्मान गरेको छ ।
संघले राष्ट्रिय दलित पत्रकार संघ, नेपालको छाता भित्र गोलबद्ध रहेर सक्रियताका साथ शाखाको गतिविधिहरू सञ्चालन गरेकोले देशभरबाट चितवन शाखा, नवलपुर शाखा, रामेछाप शाखा, रूपन्देही शाखा र सिराहा शाखालाई उत्कृष्ट शाखा घोषणा गरेको छ । संघले उक्त उत्कृष्ट शाखाहरूलाई विशेष कार्यक्रममा सम्मान गरिने संघका महासचिव लक्ष्मण दर्नालले जानकारी दिएका छन्।
त्यस्तै प्रदेशहरूको तर्फबाट उत्कृष्ट प्रदेश लुम्बिनी प्रदेश भएको छ । महाधिवेशनमा केन्द्रीय समितिको मुखपत्र कट्वाल र रूपन्देही शाखाको मुखपत्र विगुल बिमोचन गरिएको थियो । महाधिवेशन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो।
लुम्बिनी प्रदेशको बुटवलमा तीन दिनसम्म आयोजना भएको महाधिवेशनमा नयाँ नेतृत्व चयन संगसंगै १३ बुँदे बुटवल घोषणा पत्र २०७७ जारी गर्दै सम्पन्न भएको छ। उक्त घोषणा पत्र यसप्रकार रहेको छ ।
१) राष्ट्रिय दलित पत्रकार संघमा देशैभर छरिएर रहेका दलित समुदायका पत्रकारहरुलाई समावेश गरिने छ ।
२) विभिन्न सञ्चारमाध्यममा दलित समुदायका मुुद्दा प्रकाशन तथा प्रसारणका लागि सम्बन्धित सम्पादकहरुसँग छलफल र समन्वय गर्ने ।
३) संघलाई दलित समुदायका पत्रकारहरुको विशुद्ध साझा संस्थाको रुपमा स्थापित गर्नको लागि पहल गर्ने ।
४) संघले दलित समुदायका पत्रकारहरुको हक अधिकारका लागि काम गर्न अन्य संघसंस्थाहरुसँग सहकार्य गर्नको लागि नीति नै बनाएर अगाडि बढ्ने छ ।
५) दलित समुदायका पत्रकार तथा संचारकर्मीलाई क्षमता अभिवृद्धि र गुणस्तरीय पत्रकारीताका लागि विभिन्न तालिम सञ्चालन गर्ने ।
६) संघले अन्य व्यक्ति वा संघ संस्थाहरुसँगको सहकार्यमा सञ्चार माध्यमलाई समावेशी बनाउनको लागि पहल गर्ने ।
७) दलित समदायको सामाजिक न्याय, समानता, समावेशीता, लोकतन्त्र र सबै प्रकारका विभेदको अन्त्यका लागि एक वडा एक दलित पत्रकार अभियान थाल्ने ।
८) दलित समुदायको सञ्चारमाध्यमलाई राज्यले गर्ने वर्गिकरणमा विभेद रहित मूल्यांकनका लागि पहल गर्ने ।
९) नेपाल पत्रकार महासंघमा दलित पत्रकारहरुको सदस्यता वृद्धिका लागि पहल गर्ने । र महासंघको केन्द्र, प्रदेश, जिल्लामा पूर्ण समावेशीताको लागि पहल गर्ने ।
१०) दलित समुदायका पत्रकारलाई योग्यता क्षमताका आधारमा विभिन्न सरकारी तथा निजी सञ्चार माध्यममा नेतृत्वदायी भूमिकामा पुुर्याउनका लागि पहल गर्ने । र सबै सञ्चार गृहमा पूर्ण समावेशी सहभागिताका साथै दलित मैत्री वातावरण बनाउन पहल गर्ने ।
११) अन्तराष्ट्रिय सम्बन्ध निर्माणको लागि त्यहाँ रहेका सञ्चारमाध्यम र पत्रकारहरुसँग सहकार्य गर्ने ।
१२) दलित समुदायको ऐतिहासिक सीप, कला, सँस्कृति संरक्षणको लागि संघको नेतृत्वमा विशेष योजना बनाएर प्रचार प्रसार गर्ने ।
१३) आसन्न पत्रकार महासंघको निर्वाचनमा महासंघले छुट्याएको दलित तथा समावेशी कोटामा महासंघमा आवद्ध दलित पत्रकारहरु प्रजातान्त्रीक तथा बामपन्थी नामका विभिन्न प्यानलहरुमा विभक्त नहुने गरी पत्रकार महासंघले यो संघको सिफारिसमा पठाइएका साझा आधिकारीक उम्मेदवारहरुलाई उठाउने सुनिश्चितताको लागि पहल गर्ने ।
संघको हालसम्म ६५ जिल्ला शाखा, ७ प्रदेश र काठमाडौँ उपत्यका समितिहरु क्रियाशील रहेका र देशभर झण्डै १५ सय भन्दा बढि दलित समुदायका पत्रकारहरु आवद्ध भइसकेका संघका अध्यक्ष पहाडीले बताउनु भयो । संघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय, समावेशी विकासका साथै सूचनाको हक कार्यान्वयनको सवालमा भूमिका खेल्ने उहाँको भनाइ छ।
देशभरबाट करिव ४ सय भन्दा बढि पत्रकारहरुको सहभागिता रहेको महाधिवेशनमा ‘आमसञ्चार र समावेशिताको सवाल’, ‘मिडियामा महिला र दलित महिला’ र ‘दलित आन्दोलन युवा र आम सञ्चार’ विषयमा छुटाछुट्टै कार्यशाला गोष्ठी समेत सम्पन्न भएको थियो।


