चितवन, २८ साउन । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस नेपालमा पनि क्रमिकरुपमा फैलिरहेको छ । पछिल्लो केहीसमय अघि नेपाल सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेसंगै मानिसहरूको एकअर्का बीच भेटघाट र बिभिन्न कार्यक्रमहरू आयोजना गर्ने क्रम बढ्दै गयो । सोहि कारण दिनानुदिन कोरोना भाइरसबाट संक्रमित हुने संख्या बढ्दै गएको छ ।
नेपालमा पछिल्लो समय दैनिक रूपमा बढ्दै गइरहेको कोरोना भाइरस नियन्त्रण गर्न चितवनको माडी नगरपालिकाले पनि शसक्त कदम चाल्ने भएको छ ।
माडी नगरपालिका अन्तर्गतको नगरस्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले नेपाली हिन्दूधर्मावलम्बीहरुको पर्व हरितालिका तिजको अवसरमा भिडभाडबाट संक्रमणको उच्च जोखिम हुने भएको हुँदा सोको नियन्त्रणका लागि साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म यातायात तथा जनमानसलाई माडी बाहिर जान तथा माडी प्रवेशमा रोक लगाउने निर्णय गरिएको माडी नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीले बताएका छन्।
समुदायमा कोरोना संक्रमण फैलिन रोक्ने प्रयत्नस्वरुप माडी नगरपालिकाले हरेक दिन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म बाहिर हिँडडुल गर्न तथा सवारी साधन चलाउन पूर्णरुपमा निषेध गरिने सूचना अधिकारी भण्डारीले जानकारी दिएका छन्।


