चितवन, २३ साउन । काेराेना सङ्क्रमित फेला परेपछि नारायणगढ काे मिनाबजार र हरिहरमार्ग क्षेत्र सिल गरिएको छ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि चितवनको नारायणगढ क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । बिहीबार कोरोना संक्रमण पुष्टि भएका ७९ वर्षीय वृद्धका छोरा र बुहारीमा पनि कोरोना पोजिटिभ देखिएपछि नारायणगढमा सतर्कता अपनाइएको हो । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा १३१ नमुनामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–१ का दुई जनामा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ४६ वर्षीय पुरुष र ३८ वर्षीय महिला रहेका छन् । यसअघि एक जना बृद्ध संक्रमित भेटिएका थिए ।
प्रयोगशालामा आजै पर्साको वीरगञ्जका एक जना र सर्लाहीका लालबन्दी–११ का अर्का जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


