काठमाडौं, २३ साउन । । पाटन अस्पतालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको शुक्रबार मृत्यु भएको हो ।
सर्लाहीका ४५ वर्षीय पुरुषलाई कुकुरले टोकेको थियो र, १९ गते अस्पताल भर्ना भएका थिए । आईसीयूमा भर्ना भएका उनको इन्सेफ्लाटिसको समेत उपचार भइरहेको थियो । उनको शुक्रबार विहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।
यस्तै रुपन्देही, सुनौलीकी ४१ वर्षीया महिलालाई पनि १९ गते नै अस्पताल भर्ना भएकी थिइन । पाठेघरको क्यान्सर र निमोनियाको विरामी उनको उपचारका क्रममा ११ बजेतिर मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।
यसअघि अस्पतालमा बिहीबार साँझ वीरगन्जका ४५ वर्षीय संक्रमित पुरूषको उपचारको क्रममा मृत्यु भएको थियो। उनलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो ।


