चितवन, २९ असार ।
मुलुकमा जातीय विभेदका कारण आन्दोलन उत्कर्षमा भएपनि भरतपुर महानगरपालिका वडा नं २ लाई जातीय छुवाछुत मुक्त वडा घोषणा गरिने अध्यक्ष पूर्ण बहादुर श्रेष्ठले बताएका छन् ।
सोमबार नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको सभाहलमा भएको धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च, चितवनको प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले सो कुरा बताएका हुन् ।
भरतपुर महानगरपालिका वडा नं २ भित्र जातको आधारमा कहिँ कतैपनि विभेद नभएको उनले बताएका छन् । सोही कारण वडालाई विभेद मुक्त वडा घोषणा गरिने उनले जानकारी दिएका छन् । जातीय विभेदको उत्पीडनबाट उन्मुक्ति हुन र समाजको जराबाट नै विभेदलाई अन्त्य गर्न सबैभन्दा पहिले स्वयम् आफैले व्यवहारमा परिवर्तन ल्याउनुपर्ने उनले बताएका छन् ।
सोहीक्रममा मञ्चका परिकल्पनाकार एवम् सल्लाहकार अर्जुन रसाईलीले जातीय विभेदलाई निराकरण गर्न दलित समुदायको संघसंस्थाहरूबीच कार्यगत एकता हुनुपर्ने बताएका छन् ।
कार्यक्रम मञ्चका अध्यक्ष भीमप्रसाद विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने मञ्चका महासचिव अमिर रामदामले भेदभाव रहित समतामूलक समाज निर्माण गर्न हामी सबैले साझा रूपमा बुलन्द आवाज उठाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा मञ्चका कार्यसमिति सदस्य गंगा रामदामले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रममा मञ्चका परिकल्पनाकार एवम् जेष्ठ अग्रज अभिभावक दलप्रसाद विश्वकर्मा, मञ्चका परिकल्पनाकार एवम् सल्लाहकार त्रिलोक भिके रामदाम, मञ्चका परिकल्पनाकार एवम् सल्लाहकार टेकबहादुर विश्वकर्मा, भरतपुर महानगरपालिका कार्यपालिका सदस्य टेकलाल विश्वकर्मा, मञ्चका उपाध्यक्ष उत्सव खाती विश्वकर्माले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मञ्चको गतिविधि सहितको वि.सं.२०७७ सालको क्यालेण्डर वडा अध्यक्ष श्रेष्ठ, मञ्चका परिकल्पनाकारहरू अर्जुन रसाईली, दलप्रसाद विश्वकर्मा, त्रिलोक भिके रामदाम, टेकबहादुर विश्वकर्मा, भरतपुर महानगरपालिका कार्यपालिका सदस्य टेकलाल विश्वकर्माद्वारा संयुक्त रूपमा बिमोचन गरिएको थियो ।


