चितवन, २४ असार । गत जेठ १० गते रूकुम पश्चिम चौरजहारीमा भएको विभत्सपूर्ण घटना, अंगिरा पासीको बलात्कार पछि हत्या, शम्भु सदाको प्रहरी हिरासतमा भएको हत्या र प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भएको राजु सदाको मृत्यु प्रकरणको दोषीलाई हदैँ सम्मको सजाय माग राख्दै संयुक्त राजनीतिक दलित संघर्ष समिति चितवनले आज बुधबार नारायणगढमा खबरदारी र्याली र कोणसभा गरेको छ ।
संघर्ष समितिले लायन्सचोक हुँदै पुलचोक सम्म खबरदारी र्याली गरेको थियो । खबरदारी र्याली पश्चात कोणसभामा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले दलित समुदायको न्यायका लागि जहिले पनि आफू र आफ्नो पार्टीले सधै साथ सहयोग गर्ने बताएका छन् । दलित समुदायको आन्दोलनलाई अगाडि बढाउन फुटेर होइन जुटेर अघि बढ्नुपर्ने उनले बताएका छन् । उनले यो आन्दोलनबाट सत्ताधारी घटकहरू भागेको आरोप लगाएका छन् । उनले दलितको नाममा पार्टीको झोला बोकेर हिँड्ने व्यक्तिलाई समाजले बहिष्कार गर्नुपर्ने बताएका छन् ।
सोहीक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका अध्यक्ष रूद्र ढकालले दलित समुदायको होस् वा गैह्र दलित समुदायको होस् न्याय कसैको पनि मर्न नहुने बताएका छन् । उनले राज्य सत्ताले नै जात छुट्याएर दलित समुदायमाथि विभेद गरिरहेको आरोप लगाएका छन् ।
संयुक्त राजनीतिक दलित संघर्ष समिति चितवनका अध्यक्ष एवम् नेपाल दलित संघ चितवनका अध्यक्ष शान्ति परियार विश्वकर्माको अध्यक्षतामा भएको विरोध कार्यक्रममा नेपाल दलित मोर्चा केन्द्रीय सहसंयोजक बाबुराम प्यासी, नेपाल दलित संघ केन्द्रीय पूर्व उपाध्यक्ष डिबी परियार, जनता समाजवादी पार्टी केन्द्रीय सदस्य विष्णु हरि तिमिल्सिना, हाम्रो नेपाल हामी नेपाली अभियानका केन्द्रीय कोषाध्यक्ष जीता बराल, हाम्रो नेपाल हामी नेपाली अभियानका केन्द्रीय सदस्य सिमा घताने विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।


