को बन्ला नयाँ आइजीपी : आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं, २३ असार । नेपाल प्रहरीका नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिलगायतका लागि आज (मंगलबार) अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।

बैठकको मुख्य एजेण्डा नेपाल प्रहरीका लागि नयाँ प्रमुख छनौट गर्ने रहेको छ । पछिल्लो समय प्रधानमन्त्री र गृहमन्त्रीबीच बढेको दूरीका बीच नयाँ प्रहरी प्रखुम छनौट हुँदैछ ।

हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदै छन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउने छन् ।

नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । थापाको संगठनमा इमान्दार अधिकृतका रुपमा छवि छ भने पाल कमाण्ड कन्ट्रोलका कारण चिनिन्छन् ।

दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताएका छन् । त्यसैको छनक दिँदै थापा र पाल सार्वजनिक कार्यक्रममा पनि एकैसाथ जाने गरेका थिए । प्रहरी प्रधान कार्यालय, नक्सालले भने आईजीपी ज्ञवालीको बुधबार विदाइ कार्यक्रम राखेको छ । सँगै नयाँ आईजीपीको स्वागत कार्यक्रम पनि राखिएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

नेपाल प्रहरीको २८ औं महानिरीक्षक (आईजी) चयन गर्न दुई दिन मात्रै बाँकी छ । सत्तारुढ नेकपाभित्रको विवादमा लामो समय नखुलेका गृहमन्त्री रामबहादुर थापा समेत गत सातादेखि प्रधानमन्त्रीको विपक्षी कित्तामा खुलेर लागेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने खेमाको भेलाहरुमै गृहमन्त्री थापा सहभागी भएका छन् । यो अवस्थामा प्रधानमन्त्री र गृह मन्त्रीबीच सौहार्द रुपमा परामर्श भई प्रहरी महानिरीक्षक (आईजी) तोक्ने कुरामा प्रश्नचिन्ह भने देखिएको छ ।

शेयर गरौ

ताजा अपडेट